काठमाडौं : जेनजी आन्दोलनको मौका छोपेर सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएपछि देशभर करिब ७ हजार कैदीहरू विभिन्न जेलबाट भागे ।
रवि लामिछानेले आफू गृह सचिवको आदेशले छुटेको बताएपछि अन्य कैदीहरुले आफू किन छुट्न नपाउने भन्दै आन्दोलन गरेका थिए । जसका कारण जेनजीको आन्दोलनको मौका छोपेर सबै कैदीबन्दी भाग्न सफल भए ।
आज पनि डिल्लीबजार कारागारबाट केही कैदीबन्दीहरुले भित्र आफै आगो लगाएर भाग्ने कोशिष गरेका थिए । तर, नेपाली सेनाले कारागार नै नियन्त्रणमा लिएको छ ।विभिन्न अपराधमा सजाय काटिरहेका कैदीहरु प्रहरीलाई धम्क्याएर बाहिर आएपछि सर्वसाधारणमा आतंक फैलिएको छ । त्यतिमात्रै होइन कैदीहरु बाहिर आएसँगै पीडितहरु आतंकित बनेका छन् ।कानूनी दायरामा आएका व्यक्तिहरु बाहिर आएपछि नेपालीहरुको महान पर्व दशैंको मुखमा समाजमा अर्को आतंकमा प्रवेश गरेको छ ।
राज्यको आधारभूत कर्तव्य शान्ति सुरक्षाको प्रत्याभूतिको कर्तव्यबाट राज्य लगभग च्युत भएको छ । यतिबेला राज्य संयन्त्र सबै खलबलिएको र केही भए कोही कसैले उद्धार गर्ने, संरक्षण गर्ने र कानूनी दायरामा ल्याइहाल्ने अवस्था छैन ।
देशभर प्रहरीका सबै संरचना प्रभावहीन भएका छन् । प्रहरीले बोकेका हतियार लुटिएका छन् भने भौतिक संरचना जलेको अवस्था छ ।अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरी प्रशासन विफल भएको अवस्थामा सुरक्षा स्थितिमा आएको सम्पूर्ण स्खलनको जिम्मेवारी कसले लिने हो भन्नेमा कोही जिम्मेवार छैनन् ।
हुनत गएरातीदेखि नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको छ । तर, नेपाल प्रहरीसँग जति डाटा नेपाली सेनासँग छैन । त्यसैले सेनालाई सुरक्षा दिन पनि सहज छैन । रोडमा उभिएकै भरमा जनताको कसरी सुरक्षा दिन सकिन्छ ?
जेलबाट भागेका अपराधीहरुले यही मौका पारेर थप अपराध गर्ने र इगो साँध्ने काम हुनसक्छ । त्यसतर्फ कसैको ध्यान गएको छैन ।अर्कोतर्फ मंगलबार दिनभरको दृश्य हेर्ने हो साना र स्वचालित हतियारको बोकेका धेरै मानिसहरु सडकमा थिए । नेपाल प्रहरीसँग लुटिएका हतियारहरु उनीहरुको हात हातमा छन् ।
छुटेका कैदीहरुले देशभरका अदालतलाई निशाना बनाउँदा प्राय सबै अदालत जलेका छन् । अब उनीहरुको निशाना न्यायाधीश र उजुरीकर्ता माथि प्रस्ट छ ।सुरक्षा अवस्था प्राय शून्य भएको बेला समाज यस्तै आतंकले थप ध्वस्त हुने निश्चित देखिएको छ ।
रवि लामिछानेले आफू गृह सचिवको आदेशले छुटेको भनेको केही समयमै त्यही नख्खु कारागारबाट कुख्यात अभियुक्त सञ्जय टक्लासँगै सबै कैदीबन्दीहरु निस्केर हिँडेका थिए ।रविले आफू गृह सचिवको निर्णयमा छुटेको बताएपछि अन्य कैदीहरुले आफू किन छुट्न नपाउने भन्दै आन्दोलन गरेका थिए । सञ्जय टक्ला निस्केपछि मधेशभर सर्वसाधारण आतंकित भएका छन् ।
१८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए । अहिले नख्खु कारागार नै पूरै खाली भएको छ ।
कैलाली कारागार पनि पूरै खाली छ । कास्की कारागारबाट पनि ९ सय भन्दा धेरै कैदीबन्दी भागेको सूचना अएको छ । झुम्का कारागार, सोलु कारागार, रौतहट कारागार, मकवानपुरको भीमफेदी कारागार, म्याग्दी कारागारलगायतका सबैजसो कारागारबाट अपराधीहरु बाहिर आएका छन् ।विभिन्न जघन्य अपराधमा कारागारमा पुगेकाहरू धमाधम बाहिर निस्किएपछि देशभर नै सुरक्षा थ्रेट बढेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij