रौतहट : जेनजी आन्दोलनका कारण दिनभर तनावग्रस्त बनेको रौतहटको सदरमुकाम गौरस्थित कारागार मंगलबार राति रणभूमि बनेको छ । कारागारमा भएको हुलहुज्जतपछि सयौँ कैदी भाग्न सफल भएका हुन्। सुरक्षाकर्मीले प्रारम्भिक अवस्थामा ३४ जनालाई नियन्त्रणमा लिन सफल भए पनि अझै धेरै कैदी फरार रहेको पुष्टि भएको छ।
गौर कारागारमा २९१ कैदीबन्दी रहेका थिए। तीमध्ये २४ जना बाहेक सबैले कारागार तोडफोड गरी भाग्ने प्रयास गरेका थिए। प्रहरी स्रोतका अनुसार सुरुवाती रूपमा ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने थप केही जनालाई भारतको सीमा नजिकै पुगेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको खबर आएको छ। बाँकी फरार कैदीहरूको खोजतलास नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीले बताए।
मंगलबार दिनभर रौतहटमा भएको जेनजी आन्दोलनकै क्रममा स्थानीय प्रशासन र सुरक्षाकर्मी चर्को दबाबमा थिए। यही अवस्थाको फाइदा उठाउँदै कैदीहरुले राति कारागार तोडफोड गरेका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij