काठमाडौँ : काठमाडौँको बल्खु, बाफल र हसनटारबाट एकैदिन चार वटा मोटरसाइकल चोरी भयो । भदौ २ मा एकैदिन चार वटा मोटरसाइकल हराएपछि प्रहरी वृत्त कालीमाटी र उपत्यका अपराध अनुसन्धान कार्यालयको कालीमाटी शाखाका प्रहरीले त्यसबारे अनुसन्धान सुरु गरे । सिसिटिभी फुटेजको दृश्य पछ्याउँदै जाँदा एउटा सङ्गठित गिरोहको संलग्नता खुल्यो । करिब १६ दिनको अनुसन्धानपछि गिरोहका ६ जना सदस्यहरू प्रहरीको ‘एम्बुसिङ’मा परे ।
प्रहरी वृत्त कालीमाटीका डीएसपी मधु थापा नेतृत्वको टोलीले गिरोहका ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै जना धादिङको गजुरी गाउँपालिका स्थित वडा नम्बर–७ र ८ का हुन् । अनुसन्धान अधिकृतहरू उनीहरूलाई ‘धादिङे समूह’ भन्छन् ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भएका १८ वर्षीय बिजय तामाङ, १८ वर्षका नरेश रुम्बा, २० वर्षीय देवेन्द्र थिङ, २० वर्षका बिर बहादुर तामाङ, २१ वर्षीय दिपक तामाङ र २६ वर्षीय नारायण तामाङ छन् ।
आरोपीहरुको ‘जक्सन’ गजुरीको किरानचोक हो । उनीहरू मोटरसाइकल चोर्नमात्रै काठमाडौँ आउँछन् । चोरेपछि किरानचोक फर्कन्छन् । काठमाडौँमा चोरेको मोटरसाइकल २० देखी ३० हजार सम्म लिएर बेच्छन् । समूहका मुख्य नाइके हुन्, गजुरी गाउँपालिका–७ किरानचोक घर भएका २६ वर्षीय नारायण तामाङ ।
पछिल्लो दुई महिनाभित्र उनीहरुले काठमाडौँबाट करिब ५० वटा मोटरसाइकल चोरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘अहिलेसम्म ५० वटा चोरेको आशङ्का छ, अनुसन्धान गर्दै छौँ ।’
काठमाडौँमा उनीहरुले मोटरसाइकलको रेकी गर्न मान्छे खटाउँछन् । दुई दिनसम्म लगातार मोटरसाइकल पार्किङ गरेको सूचना आफ्नो सुराकबाट पाएसँगै उनी काठमाडौँ आउँछन् । मध्यरातमा काठमाडौँ आएर चोर्छन् र फर्किन्छन् । धादिङ स्थित पहाडी र हिमाली क्षेत्रमा उनीहरुले मोटरसाइकल लगेर बेच्ने गरेको एसपी बोहराले बताए । उनले भने, ‘हिमाली र उच्च पहाडी क्षेत्रमा लगेर २० देखी ३० हजारमा बेच्ने गरेको देखिन्छ ।’
चोरी गर्न उनीहरूले जिम्मेवारी बाँडफाँड गरेका छन् । ह्याण्डल लक तोड्ने, मास्टर कि मार्फत स्टार्ट गर्ने र चलाउने काम फरक व्यक्तिले गर्छन् । उनीहरूलाई मुख्य नाइके नारायण तामाङले आदेश गर्ने गरेका छन् । हेल्मेटमा उनीहरुले आन्तरिक सञ्चार ‘इन्ट्राकम’ जडान गरेको भेटिएको छ । एसपी बोहरा भन्छन्, ‘उनीहरुले ब्लुटुथ मार्फत इन्ट्राकम जडान गरेर चोरी गर्ने गरेको भेटिएको छ ।’
धादिङे समूहलाई पक्राउ गरेपछि ३ वर्षअघि काठमाडौँको रानीबनबाट चोरी भएको यमाहाको एमटी मोटरसाइकल पनि भेटिएको छ । साढे ५ लाख मूल्य पर्ने ३ वर्षअघि हराएको मोटरसाइकल सो समूहको साथबाट बरामद गरिएको एसपी बोहराले बताए ।
प्रहरीसँग मुठभेट
स्युचाटारमा भदौ १८ मा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीसँग चोर समूहको जम्काभेट हुन्छ । प्रहरीको एम्बुसिङमा परेपछि उनीहरू प्रहरीमाथि नै जाइलागे । मध्यराति १ बजेतिर मुठभेट हुँदा प्रहरी नायव निरीक्षक प्रमोद राउत, असई सुदिप पाण्डे र सहायक हवल्दार बिरेन्द्र खड्का घाइते भए ।
त्यसपछि कालीमाटीका डिएसपी मधु थापा पुगेर आरोपीहरूलाई नियन्त्रणमा लिएका हुन् । उनीहरुले चढेर हिँडेको ३ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । सो समूहले कालीमाटी क्षेत्रबाट चोरेको १४ वटा चोरीका घटना समाधान भएको छ । आरोपीहरूले चोरेको ११ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
उनीहरुले मच्छेगाउँ, स्वयम्भु, बल्खु, न्युरोड, कीर्तिपुर, र स्युचाटारमा मोटरसाइकल चोरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आरोपीहरू विरुद्ध अदालतबाट ४ दिनको म्याद लिएर प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij