Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सहकारी ठगी प्रकरण– तीन दोषी पक्राउ, अझै १० जना फरार

सहकारी ठगी प्रकरण– तीन दोषी पक्राउ, अझै १० जना फरार

नेपालगन्ज  : नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थामा भएको ३७ करोडभन्दा बढीको सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दाका तीन जना फरार दोषीलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।

एक हजार ५२६ जना जाहेरवाला बचतकर्ता रहेको नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थाका तत्कालीन अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सो कार्यालयका अनुसार उच्च अदालत नेपालगन्जको फैसला कार्यान्वयन टोलीले सहकारी ठगीका तीन जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार उनीहरूलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो ।

बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास गरी दुई तहको अदालतले उनीहरूबाट जेल सजाय र बिगो भराउने फैसला गरेसँगै सहकारीका तत्कालीन अध्यक्ष हरदेवबक्स चौधरीसहित सिद्धिकुमार महर्जन र सुरत खटिक फरार थिए । प्रहरी उपरिक्षक घर्तीमगरका अनुसार अझै १० दोषीहरू फरार रहेकोले उनीहरु पक्राउ हुन बाँकी छन्।

सहकारी वित्तीय विकास संस्थामा ३७ करोड बढी रकम हिनामिना गरिएको हुँदा अहिले पनि बचतकर्ताहरूको रकम फिर्ता हुन सकेको छैन। पीडित रकम फिर्ता नभएसम्म आफूहरूले न्याय पाएको अनुभूति गर्न नसक्ने बताउँछन् ।

अदालतद्वारा संस्थाका अध्यक्ष चौधरी र सुरतराम खटिकलाई पाँच–पाँच वर्ष कैद, ५०–५० हजार जरिवाना तोकिएको छ भने महर्जनलाई दुई वर्ष कैद र पाँच हजार जरिवाना तोकिएको छ।

सो सहकारीमा भएको घोटालाका सम्बन्धमा २०७६ असोज २८ गते जिल्ला अदालत बाँकेमा ४१ जनामाथि सहकारी ऐन, ठगी र सङ्गठित अपराधको आरोप लगाइ परेको मुद्दामा २०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले फैसला सुनाउँदै १९ जनालाई कसुरदार ठहर गरेको थियो।उक्त फैसलाविरुद्ध प्रतिवादीहरू उच्च अदालत गएकोमा २०८२ जेठ १४ गते उच्च अदालतले पनि जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो । उक्त फैसलापछि सर्वाेच्च अदालत जानसक्ने ३५ दिनको समय सकिएसँगै प्रहरीले अदालतले दोषी ठहर्‍याएकाहरूलाई सजाय भुक्तानीका लागि पक्राउ गर्न थालेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट