सर्लाही : सर्लाही प्रहरीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको अभियानमा ५५ किलोभन्दा बढी गाँजासहित एक युवक पक्राउ परेका छन् ।सोमवार साँझ ६ः३० बजेको समयमा ईश्वरपुर नगरपालिका–४ पूर्वपश्चिम राजमार्गको दोस्रो लच्का नजिकै प्रतिबन्धित लागुऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर रवीन्द्र कार्की र इलाका प्रहरी कार्यालय केशरगञ्जका इन्स्पेक्टर उमाकान्त जोशीको कमाण्डमा गएको संयुक्त टोलीले सडक किनारामा शंकास्पद अवस्थामा बसेका एक व्यक्तिलाई चेकजाँच गर्दा गाँजा फेला परेको हो ।
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–१२, घारीबथानका ३२ वर्षीय संजीव भुजेल रहेका छन् । प्रहरीले उनको साथबाट सेतो रंगका तीन वटा प्लास्टिकका बोरामा परालले छोपेर लुकाइ राखिएको अवस्थामा ५५ किलो २२० ग्राम गाँजा बरामद गरेको जनाएको छ ।
सर्लाही प्रहरीका सह–प्रवक्ता इन्स्पेक्टर बलिस्टर सिंहका अनुसार बरामद गाँजासहित संजिव भुजेललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय केशरगञ्जमा राखिएको छ । आज मंगलबार जिल्ला अदालत सर्लाहीबाट सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।बरामदस्थल इलाका प्रहरी कार्यालय केशरगञ्जबाट करिब १० किलोमिटर पूर्व–उत्तरतर्फ पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij