Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

आमाले २० महिनाकी छोरी छाडेर हिँँडेपछि बच्चाको विचल्ली

आमाले २० महिनाकी छोरी छाडेर हिँँडेपछि बच्चाको विचल्ली

सल्यान :  जन्मदिने आमाले आफ्नो २० महिनाकी छोरीलाई छाडेर घरबाट हिडेपछि बालिकाको विचल्ली भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका –१ पटारे निवासी आमा दिला गिरीले आफ्नी छोरी दुधे बालक दिपा गिरीलाई छाडेर हिडेपछि कारुणिक अवस्था सिर्जना भएको छ ।

बालिकाको बुवा टीकाराम गिरीको गत पुसमा मृत्यु भएको थियो । बुवाको मृत्युपछि टुहुरी बनेकी दिपा अहिले आमा बेपत्ता हुनासाथ थप विचल्लीमा परेकी छन् । उनी मावली घर सिद्धकुमाख –२ सालघारीमा बस्दै आएकि छन् । माइतिघरमै बसिरहेको अवस्थामा गत असार ३२ गतेका दिन विहानै खाना नखाएर २० महिने बालिका दिपाकी आमा घर छाडेर हिँडेपछि अबोध बालिकाको विचल्ली भएको हो ।

अहिलेसम्म खोजी गर्दा पनि सम्पर्कमा आउन नसकेको बालिकाकी मावली हजुरआमा धाइरी वोहराले बताउनुभयो । घर छाडेको दुई दिनपछि आफूले मोवाइलमा छोरीसँग कुरा गर्दा गाडिमा चढेर भारत जान लागेको बताए पनि त्यसपछि सम्पर्क टुटेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “मेरो एकमात्र छोरी हो, कस्ती छोरी जन्माएछु । दुधे बालखलाई अलपत्र छाडेर कोसँग कहाँ हिडी । आफैले जन्मदिएको सन्तानको पनि मायाँ नहुने कस्तो निर्दयी रैछे ।”

पछिल्लो पटक नातिनी दिपा धेरै विरामी परेपछि उनको जीवनरक्षाका लागि श्रीनगरमा उपचारका लागि हजुरआमा आउनुभएको छ । अति न्यून दृष्टिको समस्याका कारण आँफै विरामी अवस्थामा रहेकी हजुरआमा धाइरीले नातिनीलाई श्रीनगरस्थित सल्यान कर्णाली अस्पतालमा भर्ना गर्नुभएको छ । उपचारका लागि पैसा समेत नभएपछि अस्पतालले निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स श्रीनगरका शाखा प्रबन्धक दिपेन्द्रकुमार शाहीले उहाँहरुको खानाको व्यवस्थापन गरिदिनुभएको छ । अस्पतालका पदाधिकारीहरुको भनाइअनुसार बालिकाको स्वास्थ्य अवस्था कमजोर छ । हेरचाह आवश्यक छ । मावली धाइरीले नातिनीको स्याहार सुसार गर्न निकै कठिन भएको बताउनुभयो ।

“म आफैं आँखा नदेख्ने, शरीरले पनि साथ दिँदैन । नातिनीको मायाँ त धेरै लाग्छ, तर हेरचाह गर्न गाह्रो हुन्छ” उहाँले पीडा सुनाउनुभयो । बालिकाको बुवाको निधन भइसकेको छ । आमा वेपत्ता भएपछि घरपरिवारमा अरु कोही नहुनु र मावली घरमा अशक्त हजुरआमाको काखमा २० महिनाकी अबोध बालिकाको विचल्ली छ ।

आमा वेपत्ता भएपछि केही समय अघिसम्म लगातार रुने कराउने गरेकी उनी अहिले विस्तारै आमालाई बिर्सदै गएकोजस्तो देखिने घरपरिवारले जनाएको छ । अहिले दिपा आफ्नो मामासँग सुत्छिन् । तर पनि आमाको माया र स्नेहको कमी उनलाई खड्किरहेको छ ।

“नानीको अवस्था अत्यन्त कारुणिक छ, समाजका अरुले पनि सहयोग गर्नुपर्ने अवस्था छ” हिमालयन लाइफ इनस्योरेन्स श्रीनगरका शाखा प्रबन्धक शाहीले भन्नुभयो । बालिकाको आमाको खोजीका लागि माइती परिवारले सकैसँग सहयोगको याचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट