म्याग्दी : जिल्ला सदरमुकाम तथा आसपासको क्षेत्रमा सवारी र सवारीका कारण हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ ।
सदरमुकाम बेनीमा एकतर्फी पार्किङ र यातायात सञ्चालनको नियमलाई चालकले उल्लङ्घन गर्न थालेपछि एक हप्ते संयुक्त अभियान सुरु गरिएको छ । जिल्ला ट्राफिक कार्यालय र नगर प्रहरीको संयुक्त अभियानमार्फत नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने गरी अभियान थालिएको हो ।
बेनीबजार क्षेत्र साँघुरो भएको कारणले गर्दा बजार क्षेत्रमा दायाँबायाँ नै सवारी साधन पार्किङ गर्दा पदयात्रीलाई समस्या हुने तथा सडकमा गाडीलाई समेत असहज हुने एवम् दुर्घटना समेत बढेपछि मोटरसाइकलसहित साना सवारी साधन बजारभित्रबाट र ठुला सवारी साधनलाई बजारभन्दा बाहिर नदी किनारा हुँदै रिङरोडबाट आवत–जावत गर्न अनुरोध गरिएको छ ।
हालै म्याग्दीमा आउनुभएका जिल्ला ट्राफिक कार्यालयका म्याग्दीका प्रमुख विशाल परियारले बजार क्षेत्रमा तोकिएको मापदण्ड बाहेक पार्किङ र सवारी साधन सञ्चालन गरेमा कारबाही गरिने बताउनुभयो । ‘एकतर्फी पार्किङ र सवारी आवत–जावतका लागि सर्वसाधारण नागरिकबाट समेत सहयोग लिएर सबै मिलेर सुरक्षित र व्यवस्थित बनाउनुपर्छ’ उहाँले भन्नुभयो ।
२०७७ सालदेखि सुरु गरिएको बेनीबजार क्षेत्रको सडकमा एकतर्फी पार्किङ र यातायात सञ्चालन प्रभावकारी भएको थियो । साँघुरो बेनीबजारको मुख्य र गल्लीमा जथाभाबी पार्किङ गर्दा दुर्घटनाको जोखिम र बेनीबजार नै कुरूप बन्दै जाने खतरालाई समेत मध्यनजर गरेर थालिएको उक्त एकतर्फी नियमलाई मजबुत बनाउन अहिले पुनः अभियान थालिएको बेनी नगरपालिकाले जनाएको छ ।
‘अव्यवस्थित पार्किङ नियमनका लागि प्रहरीसँगको साझेदारीमा बजारलाई व्यवस्थित बनाउने प्रयासमा छौ’ नगर प्रहरी प्रमुख शङ्कर पौडेलले भन्नुभयो । अहिलेसम्म एक–एक साता दायाँबायाँ पार्किङ गर्ने गरिएको भए पनि अब हरेक साताको पहिलो ३ दिन बायाँ र पछिल्लो ३ दिन दायाँतर्फ पार्किङ गर्नेगरी ट्राफिक प्रहरीले हेरफेर गर्ने उहाँको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij