Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

वीरगञ्जमा हैजा नियन्त्रणका लागि होटल र मासु पसलहरूको अनुगमन

वीरगञ्जमा हैजा नियन्त्रणका लागि होटल र मासु पसलहरूको अनुगमन

वीरगञ्ज : हैजाको जोखिम बढिरहेका बेला वीरगंज महानगरपालिकाले होटल र मासु पसलहरूमा व्यापक अनुगमन थालेको छ ।मंगलबार महानगरको संयुक्त टोलीले मुर्ली, पानी टंकी, बसपार्क र नगवा क्षेत्रमा रहेका होटल तथा मासु पसलहरूको सरसफाइ अवस्था जाँच गरेको हो ।अनुगमनका क्रममा पसल र होटलभित्रको सरसफाइ, खानेपानीको स्वच्छता, सुरक्षित भण्डारण, फ्रिजमा राखिएका मासु, माछा, अण्डा तथा अन्य खाद्य सामग्रीहरूको निरीक्षण गरिएको थियो ।

टोलीले व्यवसायीहरूलाई स्वास्थ्य र स्वच्छताप्रति विशेष ध्यान दिन चेतावनीसहित सचेत गराएको छ ।महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार पशु सेवा शाखा, वातावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोलीले अनुगमन गरेको हो ।

सिंहले हैजा फैलन रोक्न व्यवसायी स्वयं जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउँदै नियमित अनुगमनलाई निरन्तरता दिइने बताए ।“होटल तथा मासु पसलहरूमा स्वच्छता कायम भए मात्र हैजासहितका सङ्क्रमणजन्य रोग नियन्त्रण गर्न सकिन्छ,” सिंहले भने, “यसलाई अब दैनिक कार्यको रूपमा अघि बढाइन्छ ।”

महानगरले हैजा नियन्त्रणका लागि जनचेतना कार्यक्रम, दूषित पानीको परीक्षण, सङ्क्रमित क्षेत्रको सरसफाइ र स्वास्थ्यकर्मीमार्फत घरदैलो अभियानलाई पनि सक्रिय पारेको छ ।स्थानीयवासीलाई पानी उमालेर पिउन, सफा खानेकुरा मात्र सेवन गर्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट