Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

स्याङ्जामा बोलेरो जिप दुर्घटना: सडकबाट २५ मिटर तल खस्दा २० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना: सडकबाट २५ मिटर तल खस्दा २० जना घाइते

स्याङजाको कालिगण्डकी गाउँपालिका –०७ आरुखर्कस्थित जिरो–मिर्मी भित्री पक्की सडक खण्डमा आइतबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।गल्याङबाट मिर्मीतर्फ जाँदै गरेको लु १ ज ३१७४ नम्बरको बोलेरो (डबल क्याप) जिप दिउँसो करिब १ बजे सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि कालिगण्डकी अस्पताल मिर्मी स्याङजा पठाइएको छ ।

इलाका प्रहरी कार्यालय जयपते र प्रहरी चौकी बिर्घाबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । घाइतेमध्ये १२ महिला, ८ पुरुष र २ जना बालबालिका रहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले बताए ।

दुर्घटनामा गाडी चालक गल्याङ नगरपालिका –७ चोकका ३७ वर्षीय लोकबहादुर सिंजालीसहित २० जना घाइते भएका छन् । घाइतेमध्ये कतिपयको अवस्था सामान्य भए पनि केहीलाई टाउको, खुट्टा र शरीरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको विवरणअनुसार कालिगण्डकी गाउँपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिका, पाल्पा र गुल्मीका बासिन्दा सवार थिए । घाइतेमध्ये लक्ष्मी थापा, कृष्ण राना, अप्सरा सुनार, रुपम राना, आरोही भण्डारी र तारापती पाण्डेसहित कैयौंको अवस्था मध्यम रहेको छ ।हाल घटनास्थलमा प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको र दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट