Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

परिचयपत्र बनाउन आएको वृद्धको मृत्यु

परिचयपत्र बनाउन आएको वृद्धको मृत्यु

अछाम : राष्ट्रिय परिचयपत्र बनाउन आएका तुर्माखाँदका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका–३, लकान्द्रका ७३ वर्षीय मनहरे कामीको राष्ट्रिय परिचयपत्र बनाउने क्रममा मृत्यु भएको हो ।

कमलबजारमा रहेको राष्ट्रिय परिचयपत्र दर्ता केन्द्रमा मङ्गलबार बिहान आइपुगेका कामी कार्यालय परिसरमै ढलेपछि मृत्यु भएको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिनुभयो । कार्यालय परिसरमै ढलेपछि स्थानीयले हतारमा नजिकै रहेको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा लगेपछि चिकित्सकले १२ः३५ बजेतिर मृत घोषणा गरेका थिए ।

कमलबजार नगरपालिका–२, कालापोखरास्थित रहेको नगरपालिकाको ग्राउन्डमा हिँड्दाहिँड्दै उहाँ ढल्नुभएको स्थानीयको भनाइ छ । टाढा घर भएकाले आफन्तहरू आएपछि मात्र बाँकी प्रक्रिया सुरु हुने अछाम प्रहरीले जानकारी दिएको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि ग्रामीण भेगका ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त, आर्थिक र शारीरिक रूपमा कमजोर नागरिकलाई सास्ती खेप्नुपरेको छ । सडक अभाव, लामो दूरी र सहाराको अभावमा सास्ती भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट