राजविराज : सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि स्थानीयले राजबिराजमा प्रदर्शन गरिरहेका छन्। बिहान १० बजेदेखि जिल्ला प्रहरी कार्यालय सप्तरीको अगाडि टायर बालेर स्थानीयले प्रदर्शन जारी राखेका हुन् । उनीहरुले घटनाको निष्पक्ष छानबिनको माग समेत गरेका छन् । गए राति भारततर्फ तस्करी गर्न राखिएको मदिरा नियन्त्रणमा लिन खोज्दा प्रहरीको चलाएको गोली लागेर राजगढ गाउँपालिका–२ कमलपुर निवासी ३५ वर्षीय लालु यादवको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मंगलबार राति करिब १० बजे ठूलो परिमाणमा मदिरा भण्डारण गरी भारत निकासीको तयारी गरिएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलिमाथि ढुंगामुढा प्रहार गर्दै आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रहरीले गाली चलाएको थियो । त्यसक्रममा लालु यादवको बायाँ तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइते अवस्थामा उनलाई गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रहरीले तस्करी नियन्त्रणको नाममा निर्दोषमाथि गोली प्रहार गरी हत्या गरेको स्थानीयको दाबी छ। मृतकको शव अहिले गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ । सर्च अपरेसनका क्रममा प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ । यस्तै मदिरा तस्करीमा संलग्नहरूको आक्रमणबाट प्रहरी इन्सपेक्टर वीरेन्द्रकुमार यादव र सहायक हबलदार सिकेन्द्र थारु घाइते भएका छन् ।
चार दिनअघि मात्रै प्रहरीले छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरमा हवाई फायर गर्दै हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी–७ का मनोज राय रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij