धनगढी : कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छन् । १७ वर्षीया सम्झना भट्ट घरमै झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।६ महिनाअघि मात्रै बेल्डाँडी गाउँपालिका–२ का २४ वर्षीय पवन भट्टसँग विवाह गरेकी सम्झना आइतबार मृत भेटिएकी हुन् ।सम्झनाको मृत्युलाई आफन्तले शंकास्पद भनेका छन् । माइती पक्षले घटना शंकास्पद भएको बताएपछि प्रहरीले सम्झनाका श्रीमान् पवनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको ।
श्रीमान्ले कुटपिट गरेको, यातना र तनाव दिएका कारण उनको मृत्यु भएको भन्दै माइती पक्षले किटानी जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा पवनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराले जानकारी दिए ।
जाहेरीमा सम्झनालाई पवनले कुटपिट गरेर यातना दिने, अन्य लालछाना लगाएर मानसिक तनाव दिने, गरेको उल्लेख छ । पक्राउ परेका पवनलाई अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
मृत्युअघि सम्झनाले एक जना साथीलाई वाट्सअपमा म्यासेज पठाउँदै श्रीमान्ले आफूमाथि कुटपिट गरेको बताएको खुलेको छ । प्रहरीका अनुसार घटना भएको अघिल्लो दिन मात्रै सम्झना श्रीमान्ले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय बेल्डाँडीमा पुगेकी थिइन् ।प्रहरीले उनका श्रीमान् पवनलाई बोलाएर सम्झाइबुुझाइ गरेर कुटपिट नगर्ने सर्तमा छाडेको थियो । तर, भोलिपल्ट भने सम्झना मृत अवस्थामा भेटिएकी थिइन्।पारिवारिक स्रोतका अनुसार सम्झना पवनसँग १३ वर्षको उमेरदेखि उनी प्रेम सम्बन्धमा थिइन्। दुई जनाको सम्बन्ध सार्वजनिक भएपछि उनीहरुले प्रेम विवाह गरेका थिए । तर, प्रेम विवाह गरेपछि पवनले सम्झनालाई कुटपिट गर्ने तथा यातना दिने गरेको परिवारको दाबी रहेको छ ।सम्झनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij