बुटवल : नक्कली लालपुर्जा बनाई वितरण गरेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन् । सरकारी छापको दुरुपयोग गरी नक्कली लालपुर्जा जारी गरेको अभियोगमा अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पनि जिल्ला प्रहरी कार्यालय रूपन्देहीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार उनीहरू पुरानो कित्ता प्रकरणसँग सम्बन्धित किर्ते मुद्दामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, बुटवल र भैरहवामा भएको किर्ते घटना फरक–फरक भएको प्रहरीले स्पष्ट पारेको छ ।
घटनामा संलग्न केही अन्य मालपोत कर्मचारीहरू पनि अनुसन्धानको दायरामा रहेको प्रहरीले जनाएको छ। अहिले कुन स्थानको कुन कित्ता (जग्गा) किर्ते गरिएको भन्ने विषयमा अनुसन्धान जारी रहेकाले विस्तृत विवरण सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।
प्रारम्भिक सूचनाका आधारमा, उनीहरूले सरकारी जग्गाको नक्कली लालपुर्जा तयार गरी ठुलो रकम लिई वितरण गर्दै आएका थिए। घटनाको प्रकृति गम्भीर रहेको र विस्तृत अनुसन्धानपश्चात थप संलग्न व्यक्तिहरूविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij