काठमाडौँ : शर्मा एन्ड कम्पनी (शर्मा कन्स्ट्रक्सन) सहित ८ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक निकायहरूको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरूलाई एक देखि तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।
यसरी कालोसूचीमा पर्नेहरूमध्ये वीरगञ्जको जीबी मेटल क्राफ्ट इन्डष्ट्रिजलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाको सिफारिसमा उनीहरूलाई कालोसूचीमा समावेश गरिएको हो ।
बाँकी कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन् । लालबन्दी नगरपालिकाको सिफारिसमा धनुषाको एसडी कन्स्ट्रक्सन, राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्को सिफारिसमा शर्मा एन्ड कम्पनी र धुलिखेल निर्माण सेवा, पूर्वाधार विकास निर्देशनालय जाजरकोटको सिफारिसमा भेरी नदी निर्माण सेवा, पूर्वाधार विकास कार्यालय कावासोतीको सिफारिसमा आकांक्षा कन्स्ट्रक्सन र गैढहवा गाउँपालिकाको सिफारिसमा पाल्पाको विपिन कन्स्ट्रक्सनलाई कालोसूचीमा समावेश गरिएको हो ।
यसमध्ये शर्मा कन्ट्रक्सन रमेश शर्मा नेतृत्वको कम्पनी हो । उक्त कम्पनी वीर अस्पतालको सर्जिकल ब्लक, मदन भण्डारी राजमार्गको १३५ किलोमिटर, महान्यायाधिवक्ता कार्यालय, नागरिक लगानी कोष, राहदानी विभाग लगायतका ठुला संरचना निर्माण गरेको निर्माण कम्पनी हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij