Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

झापामा मौलायो तस्करीः सम्बन्धित निकाय मौन, सादा पोशाकका प्रहरी कमाउ धन्दामै !

झापामा मौलायो तस्करीः सम्बन्धित निकाय मौन, सादा पोशाकका प्रहरी कमाउ धन्दामै !

झापा : झापाको पुर्वी नाका काँकडभिट्टा, भद्रपुर, केचना, बाहुनडाँगी, मेचीडाँडा, गैरीगाउँ, घेरवारीलगायत खुल्ला सीमा नाकाको फाइदा उठाउँदै कपडा, मोटरपार्ट्स, जुत्ताचप्पल, मोबाइल पार्ट्स, सुर्ती, माछा, हार्डवेयरलगायतका सामान तस्करीमार्फत नेपाल भित्र्याउँदै गर्दा नेपाल प्रहरी र सीमा सुरक्षा सशस्त्र प्रहरी बल रमिते बनेको छ ।

कोशी प्रदेशको पुर्वी नाका काँकडभिट्टा भनेर चिनिने गर्दछ । तर काँकडभिट्टा नाका भनेर चिनिरहँदा त्यहाँ तस्करीको सामान कसरी नेपाल भित्र्याइन्छ ? भन्नेबारे वास्तविकता बाहिरिएको छ ।त्यतिमात्र नभएर उक्त नाकामा बेलाबेलामा तस्करी र प्रहरीबीच झडप हुने गर्दछ । यही क्षेत्रमा तस्करीहरुले प्रहरीलाई महिनावारी ढिलो दिँदा झडप हुने स्रोतको दाबी छ ।

काँकडभिट्टालगायत खुल्ला सीमा नाकाको फाइदा उठाउँदै गौरीगाउँ, मेचीडाँडा, गल्लागडी, बाहुनडाँगी, नकलबन्दलगायत ठाउँबाट तस्करीका लत्ताकपडा, मोटर पार्ट्स, जुत्ताचप्पल, किराना सामान, भाँडाहरु नेपाल भित्रिने गरेको पाइएको हो ।

तस्करहरुले यी सामानहरुको कम मूल्यमा मूल्यांकनन गरी नेपाल भित्र्याउने गरेका हुन् । तस्करहरुले प्रहरी र सशस्त्र प्रहरी बलकै मिलेमतोमा खुल्ला सिमानाको फाइदा उठाउँदै रातको समयमा नेपाल भित्र्याउने गरेको स्रोतको दाबी छ ।यी सामान तस्करीबाट नेपाल भित्र्याए बापत नेपाल प्रहरी र सीमा सुरक्षा सशस्त्र प्रहरी बल पैसा असुल्ने गरेको पाइएको छ ।

रोचक कुरा त के छ भने काँकडभिट्टाबाट खटिएका सादा पोशाकका प्रहरी हवल्दार भरत कट्टेल, अर्का हवल्दार तेज बहादुर चौलागाईं, ईलाका प्रहरी कार्यालय धुलाबारीबाट जवान सम्भु ठकुरी, सीमा सुरक्षा सशस्त्र प्रहरी बल कार्यरत काँकडभिट्टाका असई सन्तोष उप्रेती र सीमा सुरक्षा सशस्त्र प्रहरी बल चेकपोस्ट जोर्सिमलले पनि तस्करीसँग पैसा असुल्ने गरेको स्रोतको दाबी छ ।

यता सादा पोसाकका प्रहरी हवल्दार कट्टेलले त ड्युटीमा रहेका अन्य जवान र असई, सईलगायतलाई थर्काउने समेत गर्छन् । त्यतिमात्र नभएर उनले सरुवा गर्दिन्छु, मेरो उजुरी शाखादेखि प्रदेश शाखासम्म पहुँच छ भन्ने समेत गरेको एक जुनियर प्रहरी अधिकृते बताए ।

यी सादा पोशाकका प्रहरी हवल्दार कट्टेल र चौलागाईंविरुद्ध बारम्बार उजुरी परिरहँदा पनि छानबिन र कुनै कारबाही हुन सकेको छैन् ।काँकडभिट्टाबाट तस्करीमा संलग्नता श्याम थापा, राजन, जिरे, भान्जा, राम लिम्बूलगायतले नेपालबाट लसुन, सुपारी, लाइटर, जस्ता सामान भारत पठाउने गरेको पाइएको छ ।

त्यस्तै समीक्षा, कविता, भूमिका, सीता काफ्ले, सुदा, रेणु अधिकारी, मुना, कल्पना, सुनिल गुप्ता, राधा, पबि, कालु भनिने आनन्द साहलगायतले गौरीगाउँ, मेची डाँडा, चिया बगान, नक्कल बन्दबाट तस्करीका सामान नेपालतर्फ भित्र्याउने गर्छन् ।

यस्तै भद्रपुर नाकाबाट पनि भन्सार छलिका विभिन्न सामानहरू भित्रिने गरेको छ । भद्रपुरस्थित झोलुङ्गे पुलबाट खैनी, डागीबारीबाट मोटर पार्ट्स, मेची पुलबाट खाद्यान्य र जुत्ता चप्पल र देविबस्तीबाट लत्ताकपडा, सुर्ती, माछा, मोबाइल पार्ट्सलगायत समान नेपाल भित्रिने गरेको छ ।

यी सीमा नाकामा पनि जिल्ला प्रहरी कार्यालय झापा र भद्रपुर वडा प्रहरी कार्यालयबाट सादा पोशाकका प्रहरी खटिएका छन् । तर यी सादा पोशाकका प्रहरी तस्करीलाई लाइन दिएर कमाउ धन्दामा संलग्न रहेको बताइन्छ ।यता भद्रपुर वडा प्रहरी कार्यालयबाट खटिएका हवल्दार युवराज श्रेष्ठले समेत तस्करीसँग राम्रै पैसा असुल्ने गरेको पाइएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोशाकका सई ज्ञानु खड्का, वरिष्ठ हबल्दार सन्तोष राई, हवल्दार यम श्रेष्ठ, हवल्दार वीरेन्द्र मण्डल, सहायक हवल्दार मोती थेबे, सहायक हवल्दार उत्तम कटवाल, जवान राज फागो लिम्बू, जवान अनिल श्रेष्ठले पनि तस्करीसँग पैसा असुल्ने गरेका छन् ।

यी सादा पोशाकलाई माछा व्यापारी वसन्त मुखिया र कृष्ण मुखियाले राम्रैसँग खुसी पार्दै माछा तस्करी धन्दा चलाइरहेका छन् । ती माछा भारतबाट आउने गर्दछ । यी माछा विभिन्न नाका हुँदै बिर्तामोड अदुवा खोला छेउ अर्जुन सहनी माछा व्यापारीकोमा आउने गरेको पाइएको छ ।त्यसपछि सहनीले यी माछा झापाका विभिन्न ठाउँमा सप्लाई गर्ने गरेका छन् । यी माछा बिर्तामोड बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म साहनीको पसलमा आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट