गैँडाकोट : नवलपरासीको गैँडाकोट नगरपालिका–१ स्थित विकासचोकमा गएराति एक घरमा सशस्त्र लुटपाट भएको छ। घरेलु हतियार खुकुरीसहित आएका तीन जनाको समूहले राति करिब २ बजेतिर सरिता पौडेलको घरमा पसी ५ तोला सुन लुटेर फरार भएका छन्।
पीडित सरिता पौडेलका अनुसार लुटेराहरुले मुखमा कपडा बाँधेर खुकुरी घाटीमा राख्दै सुनका गहना मागेका थिए। “गहना नदिए छोरा–छोरीलाई समेत केही गरिदिन्छौं भन्ने धम्की दिएका थिए,” उनले बताइन्। डाकाहरु घरभित्र झन्डै १५ मिनेटसम्म बसेका थिए।
लुटेराले सिक्री, औँठी, बाला, झुम्का, माइली तिलहरी लगायत करिब पाँच तोला सुन बराबरका गरगहना लिएर भागेको पौडेलले जानकारी दिइन्।
घटनापछि इलाका प्रहरी कार्यालय गैँडाकोटको टोली घटनास्थलमा पुगेको छ। प्रहरी निरीक्षक कमला नरालका अनुसार घटनाको गम्भीरतापूर्वक अध्ययन सुरु गरिएको छ। “सम्भावित व्यक्तिहरुको खोजी र अनुसन्धान प्रारम्भ गरिएको छ,” उनले भनिन्।
स्थानियवासीहरु घटनाबाट त्रसित भएका छन् र रातको समयमा सुरक्षा व्यवस्था थप कडा बनाउन माग गरेका छन्। पछिल्लो समय गैँडाकोट क्षेत्रमा यस्ता घटनामा वृद्धि हुन थालेको भन्दै प्रहरीले थप सतर्कता अपनाउने जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij