Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

‘रोज्जा’ कर्मचारी पक्राउ परेपछि झन समस्यामा मन्त्री अधिकारी, एक्सन लिने तयारीमा ओली

‘रोज्जा’ कर्मचारी पक्राउ परेपछि झन समस्यामा मन्त्री अधिकारी, एक्सन लिने तयारीमा ओली

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा प्रमुख मालपोत अधिकृत २४ लाख ५० हजार रुपैयाँ घुसहित रंगेहात पक्राउ गरेको छ ।

भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले भक्तपुरमा प्रमुख मालपोत अधिकृत बनाएर पठाएका कुमार आचार्य घुससहित पक्राउ परेपछि उनी संकटमा परेका छन् ।घुस डिल प्रकरणमा मुछिएका मन्त्री अधिकारीले रोजेर पठाएका मालपोत अधिकृत घुससहित पक्राउ परेपछि उनीमाथिको शंका झन बढेको सरकारभित्रै चर्चा छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गाको धनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि उनले घुस माग गरेका थिए। उनीसँगै नायब सुब्बा दीपक अधिकारी र कार्यालय सहयोगी टीकाराम राउत पनि समातिएका छन्।घुस डिल सम्बन्धी एउटा प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन्।

तर, त्यही प्रकरणमा ३२ लाख रूपैयाँ बिचौलियामार्फत बुझेको दाबीसहितको अडिओ सार्वजनिक हुँदा र आफैले रोजेर पठाएका मालपोत अधिकृत लाखौं रुपैयाँसहित पक्राउ पर्दा पनि अधिकारी अझै कानमा तेल हालेरै बसेका छन् ।अहिलेसम्म मन्त्री बलराम अधिकारीले न आफैँले राजीनामा दिएका छन्, न त प्रधानमन्त्री केपी शर्मा ओलीले नै एक्सन लिएका छन्।

मन्त्री अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर हडप्नका लागि ३२ लाख रुपैयाँ घुस बुझेको दाबी गरिएको दोस्रो अडिओ सार्वजनिक भएको छ। सोही प्रकरणमा मुछिएका अर्का मन्त्री गुप्ताले भने राजीनामा बुझाएका थिए ।

दोस्रो अडियोमा एमाले नेता खेमबहादुर पुनलाई भूमि आयोग, कास्कीको अध्यक्ष नियुक्त गर्ने र मालपोत कार्यालय, कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरूवा रोक्ने भूमाफियाको योजनाअन्तर्गत भएको कुराकानी सुन्न सकिन्छ।

बिचौलिया भनेर चिनिएका सुजन लामामार्फत अधिकारीले मन्त्री क्वार्टरमै घुस रकम लिएको अडिओमा भनिएको छ।एकातिर अडियो प्रकारण बाहिरिनु र अर्कोतिर आफ्नो ‘रोज्जा’ कर्मचारी नै घुससहित पक्राउ हुनुले एमालेभित्रैबाट पनि प्रश्न उठिरहेको छ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमै यसबारे प्रश्न उठाएका छन् । रिजालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य पक्राउ परेको विषयलाई जोड्दै मन्त्री अधिकारीमाथि प्रश्न उठाएका हुन्।

उनले फेसबुकमा लेखेका छन्–‘यस्तो हिम्मतसँग कायल नभइरहन सकिएन। घुसकाण्डमा कर्मचारीका मन्त्री राजीनामा दिन्छन्, विभागीय मन्त्री (भूमिसुधार) ‘मैले खाएको छैन’ भन्नमै असिनपसिन छन् । यस्तो बेलामा छेउको जिल्ला भक्तपुरमा मन्त्रीले छानेर पठाएका मालपोत प्रमुख हाकीहाकी साढे २४ लाख रकम असुल्छन्। यो उनको मात्रै हिम्मत होला त ? यस्तो काम चुपचाप कति भइरहेको होला( मालपोत र नापीमा ?’

मन्त्री अधिकारीले भने घूस लेनदेनमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् । उनले सोमबार प्रतिनिधि सभा बैठकमा भनेका थिए–‘जुन औंलामा विष लाग्छ, त्यही औंलो झर्छ। म डराउनेवाला छैन।’

मन्त्री अधिकारीमाथि पनि शंका पैदा भएपछि एमालेभित्र उनलाई हटाउन प्रधानमन्त्री ओलीमाथि दबाब परेको छ । एमाले संसदीय दलका एक नेताका अनुसार यसबारे पनि ओलीले छिट्टै निर्णय लिने बताइसकेका छन् ।

यसअघि मन्त्री गुप्तालाई बालुवाटार बोलाएर ‘खाली ए फोर पेपर’ दिनुस् भन्दै सचिवालयका सदस्यलाई अह्राएर राजीनामा लेख्न लागाएका ओलीले अधिकारीमाथि पनि त्यस्तै ‘एक्सन’ लिनसक्ने स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट