काठमाडौँ : ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धिमा मध्यराति घरमा प्रवेश गरेर नकावधारीहरुले सुन र नगद लुटेका छन् । हरिसिद्धि स्थित होसना इँट्टाभट्टा नजिकै रहेको ५० वर्षीया रजनी महर्जनको एकतले घरबाट आरोपीहरूले सुनका गहना र नगद लुटेर भागेका हुन् । घरमा महर्जन र उनकी ३० वर्षीया छोरी रविना महर्जन मात्रै थिए ।
असार २२ मा मध्यराति १ बजेतिर नकाब लगाएका ४ जना युवाहरू महर्जनको घरमा प्रवेश गरेका थिए । कौसीको ढोका फोडेर उनीहरू घरमा प्रवेश गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।
लुटमा संलग्नहरूले धारिलो हतियार देखाएर नगद ५० हजार र करिब १ तोला सुन लुटेर भागेको पीडितले प्रहरीलाई जानकारी गराएकी छन् । लुटपाट भएको बारेमा महर्जनकी बहिनीले जानकारी गराएपछि राति २ बजेर १० मिनेटमा प्रहरी प्रभाग हरिसिद्धीको टोली घटनास्थलमा पुगेको थियो । पीडित परिवारले प्रहरीलाई जानकारी गराएअनुसार एकजोर टप र एक थान तिलहरी तथा नगद लुटेर उनीहरू भागेका थिए ।
लुटमा संलग्नहरू पक्राउ परेका छैनन् । घटनामा संलग्न आशङ्कामा ४ जनालाई सोधपुछ गरेर निगरानीमा राखिएको एसपी जोशीले रातोपाटीलाई बताए । उनले भने– ‘यसमा हामीले अनुसन्धान गरिरहेका छौँ, लुटमा संलग्नहरूको पहिचान खुलाउने प्रयास हुँदैछ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij