Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेपाली भाषा बोलेमा कारबाही गर्ने विद्यालयहरूविरुद्ध सर्वोच्च अदालतमा रिट

नेपाली भाषा बोलेमा कारबाही गर्ने विद्यालयहरूविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौँ : काठमाडौँसहित राजधानीबाहिरका निजी विद्यालयहरूले अङ्ग्रेजी भाषालाई प्राथमिकतामा राख्दै नेपाली बोलेमा कारबाही, जरिवाना र मानसिक तनाव दिने क्रम बढेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

मंगलबार कानुनका विद्यार्थीहरू आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र काठमाडौँ महानगरपालिका समेतलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन् । रिटमाथि बुधबार पेसी तोकिएको छ ।

विद्यालयहरूले विद्यार्थीलाई विद्यालय परिसरमा नेपाली भाषा बोल्न नदिने, बोलेमा जरिवाना तिराउने, अपमान गर्ने र मानसिक दबाब दिने जस्ता दण्डात्मक क्रियाकलाप गरिरहेकाले मातृभाषामा शिक्षा आर्जन गर्न पाउने विद्यार्थीको संवैधानिक मौलिक हक सुनिश्चित गर्न आवश्यक कदम चाल्न आदेश गरी विपक्षीका नाममा परमादेशको माग निवेदकले गरेका छन् ।

विद्यालय परिसरमा नेपाली बोल्न नदिने र मानसिक दबाब दिने कार्य भएपछि अभिभावकहरूले काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा उजुरी समेत दिएका थिए ।उजुरीउपर छानबिन गरी कसूरदार पत्ता लगाउने तथा मुद्दा चलाइ कारबाही गर्नुपर्नेमा महानगरले सामान्य कामचलाउ निर्देशिका जारी गरी पन्छिन खोजेको आरोप निवेदकको छ ।

अनिवार्य अङ्ग्रेजी बोल्नुपर्ने निजी विद्यालयको गतिविधिले नेपालको संविधानमा सुनिश्चित गरिएका भाषा र संस्कृतिको संरक्षण गर्ने हक, समानताको हक, मातृ भाषामा शिक्षा ग्रहण गर्न पाउनुपर्ने हक र बालबालिकाको सम्मानजनक वातावरणमा बाँच्न पाउनुपर्ने हक हनन भएको रिट निवेदनमा दाबी गरिएको छ ।

यस्ता संवैधानिक हक विपरीत कार्य रोक्न हनन भएका संविधान प्रदत्त अधिकारको संरक्षणको माग रिटमा गरिएको छ । विद्यार्थीलाई नेपाली भाषा प्रयोग गरेबापत सजाय दिने कार्य नगर्न नगराउन सर्कुलर जारी गराइ रोक्न निर्देशनात्मक आदेशको माग रिटमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट