काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय कार्यसमिति सदस्य रवि किरण हमालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।हमालले सामाजिक सञ्जाल फेसबुकमा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा पठाएको पत्र पोष्ट गर्दै प्रधानमन्त्रीले हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोप लगाउँदै पक्राउ गर्न माग गरेका हुन् ।
पत्रमा प्रधानमन्त्री ओलीले आइतबार दिएको अभिव्यक्तिले शान्ति सुरक्षा खलल पार्ने र देशलाई द्वन्द्वतर्फ धकेल्ने उद्देश्य राखेको आरोप लगाइएको छ।एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई आइतबार सम्बोधन गर्ने क्रममा जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए।
उनले भनेका थिए–‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस् ।’हमालले जेठ १५ गते राप्रपाको घोषित जनआन्दोलनको दिन प्रधानमन्त्री ओलीले ठूलो हिंसा र रक्तपात मच्चाउने योजनाबद्ध मनसाय बोकेको दाबी गरेका छन्।उनले यो विषयलाई गम्भीरतापूर्वक नलिए १५ जेठमा भयावह र त्रासदीपूर्ण स्थिति उत्पन्न हुन सक्ने चेतावनी समेत दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij