Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नहरमा डुबिरहेको अवस्थामा युवक मृत फेला

नहरमा डुबिरहेको अवस्थामा युवक मृत फेला

विराटनगर :मोरङको ग्रामथान गाउँपालिका–७ खद्रा चोकस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा एक युवक बुधाबार मृत फेला परेका छन् । नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा ग्रामथान–७ का २४ वर्षीय सुमन चौधरीको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बिहान ९ बजेतिर घटनाको जानकारी पाएको हो ।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय हरैँचाबाट सई नीरबहादुर खड्का नेतृत्वको टोली तत्काल घटनास्थल पुगेर हेर्दा उत्तानो परेको अवस्थामा डुबिरहेको शव भेटिएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । खत्री नेतृत्वकै टोलीले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद देखिएको छैन । मादक पदार्थ सेवन (मापसे) गरेर नहरमा खसेपछि उठ्न नसक्दा पानीमा डुबेर चौधरीको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । चौधरी गाउँमा लागेको मेला भर्न भनेर मंगलबार दिउँसो घरबाट हिँडेको पाइएको डीएसपी जोशीले बताए । मेला भरेर साँझ घर फर्किएको पाइएको उनको भनाइ छ ।

त्यसको केहीबेरमा घरबाट हिँडेका चौधरी राति ९ बजेतिर नजिकैको पसलमा भोला गुट्खा किन्नलाई गएको समेत प्रहरीले पत्ता लगाएको छ । तर, भोलिपल्ट बिहान डुबिरहेको अवस्थामा उनी मृत फेला परेका हुन् । चौधरीको मृत्युको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धानपछि घटनाको वास्तविक कारण पत्ता लाग्ने जानकारी डीएसपी जोशीले दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij