Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

डिएसपीले सई र इन्स्पेक्टरले हवल्दार कुटे, एसपीले गृहमन्त्रीकै अगाडि गुट्खा च्यापे !

डिएसपीले सई र इन्स्पेक्टरले हवल्दार कुटे, एसपीले गृहमन्त्रीकै अगाडि गुट्खा च्यापे !

काठमाडौं : १५ वैशाखमा जिल्ला प्रहरी कार्यालय डोल्पाको नेतृत्व प्रहरी नायब उपरीक्षक (डिएसपी) डा. केम केसीले सम्हाले । नक्सालमै कार्यरत डिएसपी केसीको १० वैशाखमा सरुवा भएपनि उनी पाँच दिनपछि डोल्पा हाजिर भएका हुन् ।

तर सरुवा भएको सात दिन नपुग्दै डिएसपी केसी विवादमा मुछिए । मुद्दा फाँटमा ५ वर्षदेखि कार्यरत एकजना प्रहरी नायब निरीक्षक (सई)लाई कुटपिट गरेको आरोप लागेपछि उनलाई १६ गते नै प्रधान कार्यालयले फिर्ता बोलायो ।

सई शैलेन्द्र कुमार रसाइलीलाई डिएसपी केसीले एक्कासी बोलाएर अश्लील शब्द प्रयोग गरी गालीगलौज र कुटपिट गरेको बताइएको छ । त्यसपछि उजुरी परेकोमा भोलिपल्टै उनलाई हेडक्वार्टर तानिएको हो ।

प्रहरी हेडक्वार्टरको आदेशपछि डिएसपी केसी सार्वजनिक बस चढी काठमाडौं हिँडेका थिए । घटना बाहिर आएपछि छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयबाट डिएसपी नारायण डाँगीको टोली डोल्पा पुगेर छानबिन सुरु गरेको थियो ।

डिएसपी डाँगी नेतृत्वको छानबिन टोलीले प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन बुझाएको केही दिनमै पुनः डिएसपी केसीलाई डोल्पा प्रहरी नेतृत्वको जिम्मेवारीमा खटाइएको छ । यसले विवादास्पद डिएसपी केसीको पुनः फिर्तीले सुरक्षामाथि प्रश्नचिन्ह उठाएको छ ।

यस्तै बुधबार अर्को एउटा भिडिओ भाइरल भयो । जुन भिडिओमा बर्दीधारी प्रहरीले बर्दीधारी प्रहरीलाई नै कुटेको देखिन्छ । जसको चर्को आलोचना समेत भएको छ । प्रहरी प्रधान कार्यालयले समेत चासो राखेको छ ।

भिडिओमा कुट्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुन् भने कुटाई खाने प्रहरी सहायक हवल्दार । कुटाई खाने सहायक हवल्दार मदन खड्का प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए भने इन्स्पेक्टर जितेन्द्र साह ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख हुन् ।बुधवार सार्वजनिक ठाउँ सडकमै इन्स्पेक्टर साहले प्रहरी सहायक हवल्दार खड्कालाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो । घटना पनि बुधबार दिउँसोकै हो ।

प्रहरीको चर्को आलोचनापछि सहायक हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर साहको जिम्मेवारी खोसिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए । साहमाथि छानबिन सुरु भएको उनले बताए ।इन्स्पेक्टर साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ बोलाइएको र अनुसन्धानपश्चात् थप कारबाही प्रक्रिया अघि बढाइने खनालले बताए ।

यस्तै प्रहरीकै अर्को भिडिओ पनि चर्चामा छ । गृहमन्त्री रमेश लेखक उपस्थित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नारायण चिमौरियाले लुकीलुकी मुखमा गुट्खा च्यापेको भिडिओ भाइरल भएको हो ।

गृहमन्त्रीले थाहा पाउँछन् कि भन्दै लुकेर उनले गुट्खा खाएको भिडियो नै सार्वजनिक भएको थियो । भिडिओमा उनले अरुले देख्छ कि भनेर गोजीबाट गुट्खा निकाले मुखमा च्यापेको देख्न सकिन्छ ।यो घटनामा एसपी चिमोरियामाथि कारबाहीको माग उठेको छ । तर, उनीमाथि अहिलेसम्म कुनै कारबाही प्रक्रिया अघि बढेको छैन ।

यसरी पछिल्लो समय प्रहरी संगठनमा अनुसाशनहिन प्रवृति बढ्दो छ । प्रहरीको आचरण र संगठन विपरीत काम गर्ने प्रहरीहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ ।यता प्रहरी नेतृत्वले बारम्बार संगठन विपरित काम गर्नेलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिँदा पनि सिनियर प्रहरी अधिकृतहरु नै त्यस्ता गतिविधि गर्न पछि हटेका छैनन् ।

‘संगठन विपरीत काम गर्नेले सजाय पाउँछ,’ प्रहरी व्रवक्ता रमेश थापाले भने, ‘आर्थिक प्रलोभनमा परेको, आर्थिक अनुशासन भंग गरेको, आन्तरीक अनुशासन भंग गरेकाले कार्वाही गर्छौं र गरेका छौं पनि ।’हामीले संगठन गल्ती गर्नेलाई कार्वाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाएको प्रवक्ता थापाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij