काठमाडौं : वीरगंजको नारायणी अस्पताल वीरगञ्जको आकस्मिक कक्ष भवन निर्माणमा भ्रष्टाचार भएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणमा १ करोड ८४ लाख ३८ हजार रुपैयाँ भ्रष्टाचार भएको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।
अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुर, सहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह तथा इन्जिनियर सकुर अन्सारी, अस्पतालका तत्कालीन नायब सुब्बा शुशिलप्रसाद यादव र तत्कालीन लेखापाल सुदिप कुमार माझी, मूल्याङ्कन समिति संयोजक डा. विरेन्द्रबहादुर प्रधान र सदस्य–सचिव माधवी चौधरीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ।
त्यसैगरी , मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्सका तत्कालीन प्रबन्ध निर्देशक बिष्णु प्रसाद शर्मा र लुम्बिनी मिसन जेभीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।उनीहरुमाथि अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टरलक ब्लक बिछ्याउने र मुख्य निर्माण कार्य नभई सहायक निर्माण कार्य रहेको निर्माणमा एम ३५ इन्टरलक ब्लक बिछ्याउन बोलपत्र अस्वीकृत गरी मिलेमतोमा राज्यलाई हानिनोक्सानी गरेको अख्तियारको आरोप छ ।
आर्थिक वर्ष २०७७/७८ मा नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत हुने गरी इन्टरलक टायललाई भवन निर्माणको मुख्य आइटमको रूपमा समावेश गरेको पाइएको आरोपपत्रमा उल्लेख छ ।अख्तियारले उनीहरुविरुद्ध १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बिगो दाबी गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij