मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान ५ हजार ७५० पत्ता (५७ हजार ५०० क्याप्सुल) लागुऔषध ट्रामाडोलसहित दुईजनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक विश्वराज खड्काका अनुसार पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–७ बेनौली बस्ने गाडी चालक २५ वर्षीय तिर्थलाल पासवान र सह–चालक सोही स्थानका २३ वर्षीय सुनिल पटेल रहेका छन्।
बारा जिल्लाको सिम्ररौनगढबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई हेटौँडा–१५ रातोमाटे चेक प्वाईन्टस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डमा रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको ट्रामाडोल बरामद भएको उनले जानकारी दिए।
उनीहरुलाई शंका लागेर खानतलाशी गर्दा गाडीको अगाडीको ईन्जिन भएको भागमा लुकाई ल्याएको अवस्थामा ट्रामाडोल बरामद भएको हो। उक्त लागुऔषध ट्रामाडोल हेटौँडाकै लागि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।पक्राउ परेका पासवान र पटेललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको प्रहरी प्रमुख खड्काले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij