Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भारतमा महङ्गो भएपछि नवलपरासी हुँदै भारततर्फ चल्ला तस्करी

भारतमा महङ्गो भएपछि नवलपरासी हुँदै भारततर्फ चल्ला तस्करी

पश्चिम नवलपरासी : नेपालबाट भारततर्फ कुखुराका चल्ला तस्करी हुन थालेको छ । सधैँ भारतबाट अवैध रुपमा आयात भएका कुखुरा, अण्डा तथा चल्ला नष्ट गर्दे आएको प्रहरीले पश्चिम नवलपरासीबाट भारततर्फ लैजान लागिएको चल्ला बरामद गरी नष्ट गरेको छ ।पाल्हीनन्दन गाउँपालिकाको वडा नम्बर पाँच चमनटोलास्थित दशगजा नजिकबाट भारततर्फ लान लागिएको अवस्थामा उक्त चल्ला प्रहरीले बरामद गरेको हो ।

९० वटा कार्टुनमा रहेका ५ हजार ४ सय चल्ला पशु क्वारेन्टाइन चेकपोष्ट महेशपुरमा नष्ट गरिएको प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिनुभयो ।भारतबाट आएका पन्छीजन्य पदार्थ दैनिकजसो नियन्त्रणमा लिने गरेको भएपनि नेपालबाट भारततर्फ तस्करी गरेर लैजान लागेको भने पहिलोपटक थाहा भएको फुँयालले बताउनुभयो ।

सुर्खेतको विरेन्द्रनगरमा रहेको कर्णाली ह्याचरी उद्योग प्रा.ली.बाट पाल्हीनन्दनको सीमावर्ती क्षेत्रमा रहेको सना खातुन पोल्ट्री फर्मका नाममा प्रति चल्ला ३५ रुपैयाँका दरले दश हजार दुई सय चल्ला बापत ३ लाख ५७ हजार रुपैयाँको प्यान बिल काटिएको छ ।

ह्याचारी उद्योगका सञ्चालकले पनि आफूले बिल काटेर उक्त चल्ला नवलपरासी रहेको पोल्ट्री फर्ममा बिक्रि गरेको प्रहरीसँग बताएका छन् । बिलमा उल्लेख भएअनुसार अझै ४ हजार ८ सय वटा चल्ला फेला परेको छैन् ।

गहुँ खेत हुँदै मानिसले बोकेर चल्ला लजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । भारतमा अहिले चल्लाको मूल्यमा केहि वृद्धि भएकाले नेपाल तर्फबाट तस्करी सुरु भएको बताइएको छ ।

पशु क्वारेन्टाइन चेकपोष्ट महेशपुरका प्रमुख मनोज अधिकारीले नवलपरासीबाट भारततर्फ चल्ला तस्करी भएको पहिलो पटक थाहा पाएको बताउनुभयो । अन्य जिल्लाबाट तस्करी हुने गरेको सुनिएपनि नवलपरासीबाट पहिलोपटक भारततर्फ लान लागिएको चल्ला बरामद भएको बताउनुभयो ।भारतमा वृद्धि भएर प्रति चल्लाको मूल्य नेपाली एक सय रुपैयाँ सम्म पुगेपछि नेपाल बाट तस्करी हुन थालेको बताइएको छ । नेपालमा तीसदेखि चालिस रुपैयाँसम्ममा बिक्रि हुने गरेको छ ।

प्रहरीले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा भारतबाट ल्याइएका २ हजार १ सय ४३ कुखुरा, १९ हजार २ सय १६ वटा कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ ।भारततर्फ कुखुराजन्य पदार्थ निर्यात गर्नुपरेमा सबैभन्दा पहिले पशु सेवा विभागबाट स्वीकृती लिएको हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij