Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कार्यकर्तासँग करोडौं उठाएर काठमाडौंमा घर किनेको आरोप लागेका जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

कार्यकर्तासँग करोडौं उठाएर काठमाडौंमा घर किनेको आरोप लागेका जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

काठमाडौं : जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् ।उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भएको थियो ।यादवलाई सप्तरी प्रहरीले आइतबार राजविराजबाट पक्राउ गरेको हो ।यादवविरुद्ध ललितपुरबाट पक्राउ पुर्जी जारी भएकाले उनलाई ललितपुर नै पठाउने सप्तरी प्रहरीले जनाएको छ ।

यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप लागेपछि पार्टीको केन्द्रीय अनुशासन समितिले गत फागुनमा नै कोषाध्यक्ष यादवलाई आर्थिक अनियमितता लगायतका विभिन्न विषयमा चारबुँदे स्पष्टीकरण माग्दै निलम्बन गरेको थियो ।

यादवमाथि पार्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेशी संघका विदेशमा बस्दै आएका ६० भन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी शेयर तथा लेबीका नाममा करोडौं उठाएर काठमाडौंको कोटेश्वरमा घर किनेको आरोप छ ।जुनकुरा पार्टीको अनुशासन समितिको तर्फबाट सदस्यसचिव अनिताकुमारी मण्डलले २०८१।११।२१ मा जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

‘तपाईं तथा संघका पूर्वअध्यक्षहरू ई. वसन्तकुमार कुशवाहा, ई. शम्भुनाथ साहले करोडौं पैसा उठाएर काठमाडौंको कोटेश्वरमा घर किनी प्रवासी होटल चलाउने, जनकपुरमा घररस्कुल चलाउनेसहितका विभिन्न कारोबारहरू सञ्चालन गर्दै आएको तर सोको हरहिसाव वा लाभ उनीहरूलाई नबुझाउने, पैसा पनि फिर्ता नगरिदिने र सो विषयमा पार्टीमा पटक–पटक ठगी गरेको भनेर उजुरी परेपछि पटकपटक अनुरोध गर्दा पनि उनीहरूसँग हरहिसाब क्लियर नगरेको’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय कोषाध्यक्ष यादवले २०७९ मा सम्पन्न निर्वाचनपश्चात पार्टी फुटाउन विभिन्न व्यक्ति र समूहसँग गुटबन्दी गरेको, जिल्ला जिल्लामा तथा देश–विदेशमा कार्यकर्ताहरूलाई फोन गरी पार्टी फुटाउन प्रयास गर्दै आएको आरोप पनि अनुशासन समितिले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij