काठमाडौँ : दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सुरुमा ३ वटा मुद्दामा अनुसन्धान गर्ने भएको छ । प्रहरीको कसुर दर्ता किताबमा अहिले उनीबिरुद्ध ३ वटा कसुर दर्ता गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को अनुसूची ७ अन्तर्गत प्रहरीले कसुर दर्ता गरेर अदालतबाट म्याद लिएर अनुसन्धान गर्ने कानुनी व्यवस्था छ ।
प्रसाईंविरुद्ध राज्य विरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिने काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । उनले भने– ‘अनुसन्धान गर्दै जाँदा उहाँविरुद्ध अन्य कसुर पनि आकर्षित हुनसक्छ ।’
फौजदारी कार्यविधि संहिताअनुसार सरकार बादी भएर अदालतमा दर्ता हुने मुद्दा सुरुमा कसुर दर्ता किताबमा दर्ता गरेर अनुसन्धान अघि बढाइन्छ । प्रसाईं विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार नै प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुर दर्ता गरेको थियो ।
चैत १५ मा उनले चलाएको गाडीले प्रहरीलाई नै किच्ने गरी दौडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीलाई किच्न खोजेको आरोप छ । प्रहरी प्रधान कार्यालयको दाबी अनुसार प्रसाईं र उनका सुरक्षा गार्ड शुक्रवार बिहान झापाको भद्रपुरबाट पक्राउ परेका हुन् ।
तर, प्रहरी स्रोतका अनुसार प्रसाईंलाई भारतको आसामबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो । चैत १५ मा तीनकुनेमा अवाञ्छित गतिविधि गरेपछि फरार भएका थिए । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले पूर्व राजाको पक्षमा आयोजना गरेको प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए । प्रदर्शनकारीले गरेको तोडफोडबाट निजी सम्पत्तिमा क्षति पुगेको छ ।
प्रदर्शनमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रमुख नवराज सुवेदी पनि सहभागी थिए । सुवेदीलाई गौरीघाटस्थित घरमै नजरबन्द गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij