नवलपुर : जिल्ला नवलपुरको देवचुली नगरपालिका–१४ दलदले चोक नजिक पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान करिब ९:१५ बजे ट्रक, बस र मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
भैरहवाबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र.०३-००१ख ३५३४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा लु २ ख ६४३३ नम्बरको बस विपरित दिशाबाट आइरहेको ग.प्र.०४-००१ प २२८२ नम्बरको मोटरसाइकलमा ठोक्किएको हो।
दुर्घटनामा मोटरसाइकल चालक देवचुली न.पा.–१ केउरेनीका २९ वर्षीय विशाल अर्जेलको बाँया खुट्टा र छातीमा चोट लागेको छ भने पछाडि सवार ३२ वर्षीया करिश्मा तिवारीको टाउको र खुट्टामा चोट लागेको छ। दुबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
त्यस्तै बसका सहचालक ३२ वर्षीय रमेश रानाभाटको टाउको र खुट्टामा गम्भीर चोट लागेका कारण उनलाई तत्काल भरतपुरस्थित नयाँ मेडिकल कलेज (CMC) पठाइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय रजहरका प्रहरी निरीक्षक सुशिल घिमिरेको कमाण्डमा ट्राफिकसहितको टोली तथा प्रहरी हवल्दार राजु बिकको नेतृत्वमा घटनास्थलमा पुगेको टोलीले तीनवटै सवारी साधन नियन्त्रणमा लिएको छ।
प्रहरीले दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij