Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

पत्रकारको हत्या र सञ्चारमाध्यममाथिको ज्यादतीका विरूद्ध कावासोतीमा विरोध प्रदर्शन

पत्रकारको हत्या र सञ्चारमाध्यममाथिको ज्यादतीका विरूद्ध कावासोतीमा विरोध प्रदर्शन

नवलपुर : नवलपुरका पत्रकारहरुले कावासोतीमा विरोध सभा गरेका छन् । नेपाल पत्रकार महासंघ नवलपुरको अगुवाइमा भएको सभा कावासोतीको थाना चोकदेखि इन्द्रचोक हुँदै पुनः फलफूल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले पत्रकारको सुरक्षा, स्वतन्त्र प्रेसको पक्षमा नाराबाजी गरेका थिए । पत्रकारको हत्या र सञ्चारमाध्यममाथिको ज्यादतीका विरूद्ध नवलपुरका पत्रकारहरुले विरोध गरेका हुन् ।

विरोध सभामा बोल्दै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलले राजावादीको नाममा भएको अराजक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या भएको भन्दै त्यसको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरे । उनले पत्रकारहरुलाई निर्भीकरुपमा लेख्न पाउने र स्वतन्त्रपूर्वक समाचार सङ्कलन गर्न पाउने गरी सुरक्षाको व्यवस्था गर्न पनि माग गरे ।

त्यसैगरी नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाले शुक्रबार काठमाडौँमा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेको छ ।

शनिबार लमजुङ शाखाले बेँसीसहर भीमसेनस्थानमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित सभामा महासङ्घका केन्द्रीय सदस्य कृष्ण केसीले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरे । उनले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए ।

महासङ्घ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेलले सञ्चारमाध्यममाथिको आक्रमण गम्भीर अपराध भएको उल्लेख गर्दै सरकार र सम्बन्धित निकायले दोषीलाई यथाशीघ्र कानुनी कठघरामा ल्याउनुपर्ने बताए । उनले पत्रकारको सुरक्षाका लागि ठोस् कदम चाल्न पनि आग्रह गरे ।

विरोध सभामा महासङ्घका निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी, पूर्वकेन्द्रीय सदस्य नवीनराज कुइँकेल, पूर्वअध्यक्ष आश गुरूङ, जिल्ला सल्लाहकार अनुज अधिकारीलगायत जिल्लाका पत्रकारहरुको उपस्थिति थियो ।

नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाले पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

यसैबीच, घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै पत्रकार महासंघले आन्दोलनका कार्यक्रमलाई अगाडि बढाएको छ । महासंघको केन्द्रीय निर्णयअनुसार आज आइतबार देशभरका पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर काम गर्ने र सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij