Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

स्वास्थ्य चौकी निर्माणमा ६ लाखभन्दा बढी भ्रष्टाचार, प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

स्वास्थ्य चौकी निर्माणमा ६ लाखभन्दा बढी भ्रष्टाचार, प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

काठमाडौं : धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरूद्ध मुद्दा दायर भएको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखाका छैटौं तहका अधिकृत सुमनकुमार पुरी र जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष वृजकुमार यादवविरूद्ध पनि मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

प्रवक्ता पौडेलका अनुसार वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी परेको थियो। उक्त निवेदनमाथि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

गाउँपालिकाबाट आर्थिक वर्ष २०७६/०७७ मा स्वास्थ्य चौकी भवन, डिप बोरिङ तथा बोरिङ हाउस निर्माणका लागि ठेक्काको बोलपत्र सूचना र बोलपत्र स्वीकृतिको सूचना सार्वजनिक प्रकाशन गर्नुपर्थ्यो।

त्यसका लागि प्रशासकीय अधिकृत चौधरी र पुरीले उक्त मिडियाका अध्यक्ष यादवसँग मिलेमतो गरेको आरोप छ।मिलेमतो गरी २०७६ माघ २३ गते एउटा प्रतिमा मात्रै सूचना प्रकाशन गरी अन्यमा भने प्रकाशन नै नगरेको अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ।

त्यस्तै चैत ३ गते पनि एउटा प्रतिमा मात्रै स्वीकृतिको सूचना प्रकाशन गरेको देखिएको थियो। त्यसबापत जनकपुर टुडेलाई ६ लाख ४४ हजार एक सय रुपैयाँ भुक्तानी गरेको पुष्टि भएको अख्तियारको दाबी छ।यसरी भ्रष्टाचार गरेको भन्दै तीनै जनाविरूद्ध कैद र बिगो असुलको माग राखी मुद्दा दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij