इलाम : प्रहरीले लागुऔषध नियन्त्रण गर्न अफिम खेती नष्ट गरिरहेको छ । इलामको फाकफोकथुम लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो । फाकफोकथुम–३, सल्लेरीका विभिन्न स्थानमा लगाइएको करिब चार रोपनीअफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंगलबारे इलाका प्रहरी कार्यालयबाट इन्स्पेक्टर मोहनलाल आँगा श्रेष्ठको कमान्डमा, प्रहरी चौकी आमचोकबाटसमेत गएकोे प्रहरी टोलीले अफिम खेती नष्ट गरेको डिएसपी मानबहादुर राईले बताए ।
डिएसपी राईका अनुसार इलाममा लागुऔषधसहित पक्राउ पर्नेको संख्या निरन्तर बढ्दो छ । लागुऔषध नियन्त्रण गर्न प्रहरीले सचेतना अभियान पनि जारी राखेको छ । राईका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा जिल्ला प्रहरी कार्यालयमा लागुऔषधसम्बन्धी १७ मुद्दा दर्ता भएका छन् ।
यी मुद्दामा २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको डिएसपी राईले बताए । पक्राउ परेका यी व्यक्तिबाट १९ ग्राम चार सय मिलिग्राम ब्राउन सुगर, आठ सय १६ ग्राम गाँजा र चार नाइट्रोजन ट्याब्लेट बरामद गरिएको राईले जानकारी दिए । प्रहरीका अनुसार गएको आर्थिक वर्ष ०८०/०८१ मा इलाममा पाँच किलो ६७ ग्राम गाँजा र एक सय ३३ ग्राम ब्राउनसुगर बरामद भएको थियो । लागऔषधसम्बन्धी १६ मुद्दा दर्ता थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij