Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

१६ वर्षअघि भक्तपुरको नरेफाँटमा ट्याक्सी चालकको हत्यामा संलग्न प्रतिवादी पक्राउ

१६ वर्षअघि भक्तपुरको नरेफाँटमा ट्याक्सी चालकको हत्यामा संलग्न प्रतिवादी पक्राउ

काठमाडौँ : भक्तपुरको नरेफाँटमा १६ वर्षअघि ट्याक्सी चालकलाई हत्या गरेर भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुगदेउ महांकाल गाउँपालिका–७ घर भएका बावु लामा छन् । ३७ वर्षीय लामा लामो समयदेखि भारत बस्दै आएका थिए ।

उनलाई भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको प्रहरी स्रोतको दाबी छ । तर, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले लामालाई झापाको काँकडभिट्टाबाट पक्राउ गरिएको बताए ।

उनले भने– ‘हत्यामा संलग्न ३ जना यसअघि नै पक्राउ परेका थिए, अहिले पक्राउ परेका बावु लामा चौथो प्रतिवादी हुन् ।’ हत्यामा संलग्न अर्का प्रतिवादी काभ्रेको महाभारत गाउँपालिका–३ घट्टे घर भएका ३७ वर्षीय वीरमान सिंह भुलन फागुन ८ मा पक्राउ परेका थिए । उनीहरु विरुद्ध भक्तपुर जिल्ला अदालतले २० वर्ष कैद सजाय हुने ठहर गरेको छ ।

२०६६ मङ्सिर २६ मा राति चार जना ठमेलबाट कोटेश्वर जाने भनेर बा.१ ज ९१४ नम्बरको ट्याक्सीमा चढ्छन् । कोटेश्वर हुँदै नरेफाँटमा पुगेपछि ट्याक्सी चालक रोशी गाउँपालिका–४ लेम्बाबेसी घर भएका मेघबहादुर तामाङलाई गलबन्दीले घाँटीमा कसेर हत्या गर्छन् ।

हत्यापछि चालकको मोबाइल र पैसा लुटेर उनीहरू भागेको एसपी आचार्यले बताए । हत्यामा संलग्न दुई जना त्यतिबेला नै पक्राउ परे पनि बावु लामा र वीरमान सिंह भुलन फरार थिए । उनीहरू भारतमा काम गरेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij