Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भाइकाे हत्या गरेर फरार भएका कर्ण पक्राउ

भाइकाे हत्या गरेर फरार भएका कर्ण पक्राउ

धनगढी : बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँमा भएको गोलीकाण्डका फरार अभियुक्त कर्णबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ। ४५ वर्षीय विष्टलाई भारतको धारचुलाबाट शुक्रवार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनले गत शनिवार भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टमाथि गोली प्रहार गरी हत्या गरेका थिए। घटनापछि बन्दुकसहित फरार रहेका कर्णबहादुरलाई प्रहरीले मोबाइल लोकेसनको आधारमा ट्र्याक गरी नियन्त्रणमा लिएको हो। भारतसँग सीमा जोडिएको धारचुला क्षेत्रमा लुकेर बसेका उनलाई समातेर नेपाल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

प्रहरी अनुसन्धान अनुसार कर्णबहादुर र सुरेन्द्रबिच ४० हजार रुपैयाँको लेनदेन विवाद थियो। शनिवार बेलुका करिब ८ बजे घर नजिकैको होटेलमा खाना खाइरहेका बेला उनीहरूबिच भनाभन भएको थियो। विवाद चर्किएपछि कर्णबहादुरले सुरेन्द्रलाई गोली प्रहार गरेका थिए।

गम्भीर घाइते भएका सुरेन्द्रलाई स्थानीयहरूले उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएका थिए । तर, चिकित्सकले उनलाई अस्पताल पुग्नासाथ मृत घोषणा गरेका थिए। कर्णबहादुर सिकारी भएका कारण पहिले पनि लामो समय जङ्गलमै बस्ने गर्थे।

उनी हातहतियार ओसारपसारको मुद्दामा समेत मुछिएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले उनलाई पक्राउ गर्न विशेष योजना बनाएको थियो। बन्दुकसहित फरार रहेका कारण सुरक्षाकर्मीले इन्काउन्टरको तयारीसमेत गरेका थिए। अहिले कर्णबहादुरलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ। प्रहरीले उनलाई सार्वजनिक गर्दै थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij