Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

यौन प्रस्ताव अस्वीकार गरेपछि हत्या, यसरी सुल्झायो रुपन्देही प्रहरीले हत्याको गुत्थी

यौन प्रस्ताव अस्वीकार गरेपछि हत्या, यसरी सुल्झायो रुपन्देही प्रहरीले हत्याको गुत्थी

काठमाडौं : गत फागुन ८ गते रूपन्देहीको सियारीस्थित बेथरी सडकखण्डको किनार नजिकै खेतमा छोपिएको अवस्थामा दाङको लमही नगरपालिका,७ की संगिता चौधरीको शव फेला पर्यो ।उनको टाउको र अनुहारमा ढुंगा प्रहार गरी नचिनिने गरि हत्या गरी सडक किनारमा परालको थुप्रोले ढाकेको अवस्थामा शव भेटिएको थियो ।

तर, हत्या आरोपमा रूपन्देही प्रहरीले ९ दिनपछि एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका-१२ का अजय भनिने ४२ वर्षीय अमिरिका थारू रहेका छन् ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपीक्षक (डिएसपी) सुरज कार्कीको कमाण्डमा गठित अनुसन्धान टोलीले अनुसन्धान सुरु गरेको थियो । ९ दिनपछि रुपन्देही प्रहरीले आरोपी पक्राउ गर्न सफल भएको हो ।प्रहरीले शव फेला परेपछि तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरेको थियो सोही क्रममा थारूलाई गत १६ गते पक्राउ गरेको डिएसपी कार्कीले बताए ।

मृतक र आरोपी दुवैजना बुटवल उपमहानगरपालिका(११ कालिकापथमा साथीहरूसँग बसेर ज्याला मजदुरी गर्थे । घटना भएको दिन दुवैजनाले मादक पदार्थ सेवन गरेको र अमिरिकाले संगितालाई यौन प्रस्ताव राखेका थिए ।

अनुसन्धानमा यौन प्रस्ताव अस्वीकार गर्दा ढुंगाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएका दुई थान ढुंगा, मृतकले प्रयोग गर्ने मोवाईल, कालो टोपी, चप्पल लगायत बरामद गरेको थियो ।

त्यस्तै, पक्राउ परेका अमिरिकाको साथबाट वारदातको समयमा लगाएको कालो जिन्स पाइन्ट र मृतकले प्रयोग गरेको साइकल बरामद गरेको छ । पक्राउ परेका थारुलाई जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij