Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पाल्हीनन्दन बेलासपुर घटना : दुवै पक्षबीच पाँचबुँदे सहमति

पाल्हीनन्दन बेलासपुर घटना : दुवै पक्षबीच पाँचबुँदे सहमति

नवलपरासी : विवाहको विषयलाई लिएर पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुरमा १ जनाको ज्यान गरी भएको घटनाका दुवै पक्षबीच बिहीबार पाँचबुँदे सहमति भएको छ ।जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा दुवै पक्षबीच सहमति भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

उनका अनुसार सहमतिपछि मृतकका परिवारले मृतकको शव बुझेका छन् । मङ्गलबार भएको झडपमा परी पाल्हीनन्दन–३ का ३५ वर्षीय विजय धवलको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

मृतक धवलको बिहीबार नै पश्चिम नवलपरासीको रामग्राम र पाल्हीनन्दनको सिमानामा पर्ने परासीको झराही खोलामा दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाले बताए ।

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार घटनामा परी ज्यान गुमाउनेका परिवारलाई नियमानुसार उचित क्षतिपूर्ति उपलब्ध गराउने, सक्दो छिटो घटनाको अनुसन्धान गर्ने, निर्दोष देखिए तत्काल रिहा गर्ने, दोषी उपर कडा कारबाही गर्ने, सोही विषयलाई लिएर कुनै पनि पक्षबाट थप झडपको स्थिति सिर्जना हुन नदिने तथा सामाजिक सद्भाव खलल हुन नदिन दुवै पक्ष संयमित हुने र मृतकको दाहसंस्कार गर्ने सहमति भएको थियो ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नारायण थापालाई निर्दोष देखिएका २ जनालाई रिहा गरिएको र पक्राउ परेका ६ जनामध्ये ४ जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुरकी सहाना खातुन र सोही ठाउँका युवा डाक्टर धोबीबीचको प्रेम सम्बन्ध र विवाहले निम्त्याएको आक्रोशका कारण मङ्गलबार ज्यान जानेसम्मको घटना भएको थियो । धोबीले खातुनलाई भगाएर विवाह गरेपछि केटा र केटी पक्षबीच करिब दुई महिनादेखि विवाद हुँदै आएको थियो ।

केटीका दाइले पिकअप भ्यानले ठक्कर दिएर दुई जनालाई घाइतेसमेत बनाएका थिए । घाइतेमध्ये विजय धवलको मृत्यु भएको थियो । गाडीको ठक्करबाट घाइते भएका अर्का व्यक्ति वैद्यनाथ लौनियाको भने उपचार भइरहेको छ । प्रेम विवाह गरी फरार रहेका भनिएका युवायुवती भारततिर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij