गड्डाचौकी( कञ्चनपुर) : महेन्द्रनगर– कञ्चनपुरमा यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेदकोट नगरपालिका– ६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट –५ का अस्मित डगौरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जमुना जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार परीक्षा दिन लगाउने सुवास डगौरा र प्रयोगात्मक परीक्षामा अरुको नाममा फर्जी हाजिर लगाइ परीक्षा दिने भीमदत्त नगरपालिका–६ का अमरसिंह धामीलाई पनि पक्राउ गरिएको निरीक्षक जोशीले बताउनुभयो । उनीहरुले अरु दुईजनाको हाजिर गरी परीक्षा दिएकाले प्रहरीको सहयोगमा पक्राउ गरी कञ्चनपुर प्रहरी कार्यालयको जिम्मा लगाइएको यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्कराज भट्टले बताउनुभयो ।
पक्राउ परेका दुबै जनाले फर्जी हाजिरी गरी परीक्षामा सहभागी भएको कार्यालय प्रमुख भट्टले बताउनुभयो । कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको प्रमुख भट्टले जानकारी दिनुभयो।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं निरीक्षक जोशीले पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो।‘पक्राउ परेका तिनै जनामाथि अनुसन्धान भइरहेको छ,” निरीक्षक जोशीले भन्नुभयो “अनुसन्धान सकिएपछि मात्रै उनीहरुलाई कुन शीर्षकमा मुद्दा लाग्छ त्यसबारे निर्णय लिन्छौँ ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij