Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जनकपुरको एक सुधार केन्द्रमा युवकको शङ्कास्पद मृत्यु, परिवारद्वारा छानबिनको माग

जनकपुरको एक सुधार केन्द्रमा युवकको शङ्कास्पद मृत्यु, परिवारद्वारा छानबिनको माग

जनकपुर : धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादवको जनकपुरधामस्थित किशोर फाउन्डेसन सुधार केन्द्रमा शङ्कास्पद मृत्यु भएको छ। बुधबार साँझ निधन भएका यादव दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आएका थिए।

सुधार केन्द्रका व्यवस्थापक सञ्जीव शर्माका अनुसार, राजकुमार लागू पदार्थ दुर्व्यसनीमा थिए। उनलाई बुधबार बिहान घाँटीमा कफ जम्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि समर अस्पताल लगिएको थियो। अस्पतालले सामान्य अवस्था देखिएको भन्दै निगरानीमा राख्न सल्लाह दिए पनि, साँझ फेरि समस्या भएपछि प्रादेशिक अस्पताल लगिएको थियो, जहाँ मृत्यु भएको दाबी गरिएको छ।

तर, प्रादेशिक अस्पतालका आकस्मिक कक्षका इन्चार्ज शरद यादवका अनुसार, अस्पताल ल्याउँदा नै राजकुमारको मृत्यु भइसकेको थियो। परिवारजनले सुधार केन्द्रमा अत्यधिक औषधि खुवाइएकै कारण मृत्यु भएको आशङ्का गरेका छन्। मृतककी आमाले चार दिनअघि छोराको अवस्था कमजोर देखेर घर लैजान चाहेको भए पनि सुधार केन्द्रले उनलाई रोकिएको थियो।

प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने बताएका छन्। राजकुमार घरका एक्ला छोरा थिए। उनका दुई सन्तान छन् भने उनका पिता वैदेशिक रोजगारीमा रहेका छन्। परिवारले निष्पक्ष छानबिनको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij