कुरिनटार : इच्छाकामना गाउँपालिका ले चालू आर्थिक वर्षको आठ महिनामा जम्मा ३३ दशमलब १४ प्रतिशत मात्रै बजेट खर्च गरेको देखिएको छ। आर्थिक वर्ष सकिन चार महिना मात्र बाँकी रहँदा आधा बजेटसमेत खर्च हुन नसक्दा गाउँपालिकाको कार्यसञ्चालनमाथि प्रश्न उठ्न थालेको छ। विगतका वर्षहरूको तुलनामा यस वर्ष खर्च प्रतिशत कम देखिएको छ।
विवरणअनुसार पुँजीगततर्फ १५ दशमलब ४६ प्रतिशत मात्र खर्च भएको छ भने चालूतर्फ ४६ दशमलब ३ प्रतिशत खर्च भएको छ। भौतिक तथा वित्तीय प्रगति हेर्दा चालूतर्फ ४३ करोड ५२ लाख २१ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा २० करोड १७ लाख १५ हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै पुँजीगततर्फ ३२ करोड ५० लाख ८० हजार रुपैयाँ विनियोजन गरिएकोमा ५ करोड २ लाख रुपैयाँ मात्र खर्च भएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत का अनुसार यस वर्षको खर्चमा कमी आउनुको मुख्य कारण भदौ २३ र २४ मा भएको आन्दोलन तथा त्यसपछिको निर्वाचन हो। उनका अनुसार ती घटनाका कारण कतिपय योजनाहरू समयमै कार्यान्वयन हुन नसकेको हो।
‘विगतका वर्षहरूमा करिब ८७ प्रतिशतसम्म खर्च गरेका थियौँ, तर यस वर्ष आन्दोलन र निर्वाचनका कारण लक्ष्यअनुसार खर्च हुन सकेन,’ बस्नेतले भने, ‘अबको चार महिनाभित्र काम सम्पन्न भई भुक्तानी निकासा बढ्नेछ।’
गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७६ करोड ३ लाख १ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर गत फागुन मसान्तसम्म जम्मा ४७ करोड ३१ हजार रुपैयाँ मात्रै खर्च भएको तथ्याङ्कले देखाएको छ।
विगत तीन वर्षको खर्च अवस्था
विगतका तीन आर्थिक वर्षको विवरण हेर्दा यस वर्ष खर्च प्रतिशत कम रहने अनुमान गर्न सकिन्छ।
आर्थिक वर्ष २०८०/०८१ :
६७ करोड ४ लाख १९ हजार विनियोजनमध्ये ५८ करोड २९ लाख ४४ हजार (८६.९५%) खर्च
आर्थिक वर्ष २०७९/०८० :
७७ करोड ५९ लाख ९४ हजार विनियोजनमध्ये ६१ करोड २८ लाख ९७ हजार (७८.९८%) खर्च
आर्थिक वर्ष २०८१/०८२ :
७७ करोड ९८ लाख ८ हजार विनियोजनमध्ये ६६ करोड ७३ लाख २९ हजार (८५.६%) खर्च
यद्यपि गाउँपालिकाले भने आर्थिक वर्षको अन्त्यसम्म खर्च प्रतिशत उल्लेख्य रूपमा बढ्ने दाबी गरेको छ। प्रशासनका अनुसार आन्दोलन र निर्वाचनले केही समय कार्यप्रगति प्रभावित भए पनि बाँकी अवधिमा काम तीव्र बनाइने योजना रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij