Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

युद्धविराम अनिश्चित रहँदा बढ्यो कच्चा तेलको भाउ

युद्धविराम अनिश्चित रहँदा बढ्यो कच्चा तेलको भाउ

न्युयोर्क : विश्व बजारमा बिहीबार कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानबिच भएको नाजुक युद्धविरामलाई लिएर चिन्ता बढ्दै जाँदा तेलको मूल्य पुनः उकालो लागेको छ । एसियाली बजारमा बिहीबार बिहानको कारोबारमा अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको हो । 

दुई हप्ताका लागि सर्तसहित गरिएको युद्धविरामबिच इजरायलले लेबनानमा भीषण आक्रमण गरेपछि तनाव पुनः चर्किएको छ । त्यसको प्रतिक्रिया स्वरूप इरानले पनि आक्रमण जारी रहे ‘पछुतो हुने जवाफ’ दिने चेतावनी दिएको छ ।

यसअघि युद्धविराम घोषणा भएपछि तेलको मूल्य घटेको थियो । खासगरी महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउने सहमति भएपछि तेलको आपूर्ति बढ्ने र भाउ सुस्ताउने आशा  छ । स्ट्रेट अफ हर्मुज विश्व ऊर्जा आपूर्तिको प्रमुख केन्द्र मानिन्छ ।

यो मार्ग भएर झन्डै २० प्रतिशत कच्चा तेल विश्व बजारमा जान्छ । तर, इरानले अमेरिकी–इजरायली हवाई आक्रमणको प्रतिकारस्वरूप उक्त मार्ग प्रयोग गर्ने जहाजहरूलाई निशाना बनाउने चेतावनी दिएपछि त्यहाँको यातायात अवरुद्ध भएको थियो ।

तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ बिहीबार २ दशमलव २ प्रतिशतले बढेर ९६ डलर ७० सेन्टमा पुगेको छ भने अमेरिकी बेन्चमार्क वेस्ट टेक्सस इन्टरमिडियट पनि २ दशमलव ८ प्रतिशतले बढ्दै ब्यारेलकै ९६ डलर ९० सेन्टमा कारोबार भइरहेको छ ।

विश्लेषकहरूका अनुसार, अमेरिका–इरान सम्बन्ध अझै ‘नाजुक’ रहेकाले तेल आपूर्ति र ढुवानीमा अनिश्चितता कायम छ । ऊर्जा आपूर्ति विशेषगरी स्ट्रेट अफ हर्मुजबाट हुने ढुवानी नै आगामी दिनमा बजारको मुख्य चासो रहने बताइएको छ । यसैबिच केही तेल तथा ग्यास पूर्वाधारहरू क्षतिग्रस्त भएकाले पूर्ण रूपमा मर्मत हुन समय लाग्ने र त्यसले दीर्घकालीन रूपमा मूल्य उच्च नै रहने सम्भावना रहेको पनि विज्ञहरूले बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समय सीमा तोकेर युद्धविराम घोषणा गरेका थिए । उनले सम्झौता नभए ‘सम्पूर्ण सभ्यता नै नष्ट हुन सक्छ’ भन्ने चेतावनी दिएका छन् ।युद्धविरामको एक महत्त्वपूर्ण सर्त भनेको स्ट्रेट अफ हर्मुज हुँदै जहाजहरू सुरक्षित रूपमा आवत जावत गर्न पाउनु पनि हो । तर हालको परिस्थितिले ऊर्जा बजार अझै अस्थिर रहने सङ्केत दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट