Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

तेलको मूल्यमा भारी गिरावट

तेलको मूल्यमा भारी गिरावट

न्यूयोर्क:  अमेरिका र इरानबीच दुई हप्ता लामो युद्धविरामको घोषणा भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। विगत पाँच हप्तादेखि जारी युद्धका कारण आकासिएको तेलको मूल्यमा बुधबार करिब १५ प्रतिशतसम्मको गिरावट देखिएको हो।

युद्धविरामको घोषणा लगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा करिब १५ प्रतिशतको भारी गिरावट आएको छ। ब्रेन्ट क्रुड र डब्लुटीआई दुवैको मूल्यमा उच्च गिरावट आएपछि महँगी घट्ने आशामा लगानीकर्ता उत्साहित देखिएको अलजजिराले लेखेको छ।

अमेरिकी सेयर बजारमा प्रविधि क्षेत्रका दिग्गज कम्पनीहरू एनभिडिया, टेस्ला र इन्टेलको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यद्यपि, कच्चा तेलको मूल्य घटेका कारण अमेरिकी ऊर्जा कम्पनीको सेयर भने करिब ३ प्रतिशतले ओरालो लागेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण स्थगित गर्ने र इरानले ‘होर्मुज जलडमरू’ पुनः खुला गर्ने सहमति गरेलगत्तै ऊर्जा बजारमा यो सकारात्मक परिवर्तन आएको हो।

विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने ‘होर्मुज जलडमरू’ इरानले बन्द गरेपछि बजारमा हाहाकार मच्चिएको थियो। तर, युद्धविराम सम्झौताको मुख्य सर्त नै यो जलमार्गलाई तत्काल र सुरक्षित रूपमा सञ्चालन गर्ने भएपछि आपूर्ति सहज हुने विश्वासले लगानीकर्ताहरू उत्साहित भएका छन्।

पाकिस्तानी मध्यस्थतामा भएको यो ‘टु-साइड’ युद्धविरामले खाडी क्षेत्रबाट हुने तेल र प्राकृतिक ग्यासको ढुवानीमा रहेका सबै अवरोधहरू हट्ने अपेक्षा गरिएको छ।

तेलको मूल्यमा आएको यो गिरावटले विश्वव्यापी रूपमा बढ्दै गएको मुद्रास्फीति (महँगी) लाई कम गर्न मद्दत पुग्ने अर्थविद्हरूले बताएका छन्। यदि आगामी दुई हप्ताको वार्ता सफल भई स्थायी शान्ति कायम भएमा तेलको मूल्य अझै घटेर युद्धपूर्वको सामान्य अवस्थामा आउन सक्ने अनुमान गरिएको छ।

यद्यपि, ओमानमा शुक्रबारदेखि सुरु हुने वार्ताको नतिजा नआएसम्म बजार अझै केही हदसम्म अस्थिर रहन सक्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट