काठमाडौं : कुनै पनि व्यक्तिका लागि संसारको सबैभन्दा सुरक्षित ठाउँ भनेको उसको घर हो। विडम्बना, अहिले घर नै असुरक्षित बन्दै गएको छ। पछिल्लो समय आफन्तबाटै हुने अपराधका घटना निकै बढिरहेका छन्। यसका कारण विभिन्न हुन सक्छन्। मुख्य कुरा त समाजमा चरम अराजकता देखिइरहेको छ, जसको जड खोज्दै जाँदा हामी द्वन्द्वकालसम्म पुग्नुपर्ने हुन्छ।
द्वन्द्वकालअघि समाजमा आफ्नै किसिमको अनुशासन थियो। सानातिना अनुशासनहीनता वा समस्यालाई समाजले भित्रैबाट नियन्त्रण गर्थ्यो। सरकारी संयन्त्र वा प्रहरीको सहयोग त त्यसपछिको कुरा हुन्थ्यो। द्वन्द्वकालमा सामन्तवाद र अन्य विभिन्न नाममा हाम्रा सामाजिक मान्यता र सामाजिक बनावटलाई भत्काउने काम भए। कसैले केही गलत गर्दा औँला उठाउने र खबरदारी गर्ने आफ्नै परिपाटी समाजमा थियो, जुन हराउँदै जानुमा द्वन्द्वको ठूलो हात छ।
अहिले मानिसहरूमा बाँच्ने संघर्षसँगै आक्रोश पनि बढ्दै गएको छ। अर्कातिर दण्डहीनताका कारण मानिसमा सहनशीलताको अभाव देखिन्छ। पहिले दुई जनाबीच झगडा हुँदा गालीगलौज वा हात हालाहालसम्म हुन्थ्यो, अहिले सामान्य कुरामा हतियार नै प्रहार गर्ने वा ज्यानै लिने जस्ता उग्र प्रतिक्रिया देखिन थालेका छन्। समाजमा अनुशासनहीनता मौलाएको देखिन्छ।
यो अवस्था नियन्त्रण गर्न अब सरकारले विशेष ध्यान दिनुपर्छ। अपराध नियन्त्रण प्रहरीले मात्र गर्न सक्ने विषय होइन, यसका लागि विद्यालय तहदेखि नै बालबालिकालाई जिम्मेवार नागरिक बन्न सिकाउनुपर्छ। समाज र विद्यालयले धेरै कुरा नियन्त्रण गर्न सक्छन्। नैतिक शिक्षालाई विद्यालय स्तरमै जोड दिइनुपर्छ। नैतिक शिक्षाअन्तर्गत मूलतः परिवारमा गर्ने व्यवहार, मान्यजनलाई गर्ने आदर र विद्यार्थीले शिक्षकप्रति राख्ने श्रद्धा पर्छन्; यो कुनै धार्मिक विषय मात्र होइन। आजभोलि शिक्षकसँग चित्त नबुझ्दा विद्यार्थी हातपातमै उत्रन्छन्, खुट्टा भाँचिदिने जस्ता अराजक गतिविधि भएको पनि देखिन्छ, जुन खेदजनक छ।
यसका साथै समाजलाई कसरी व्यवस्थित गर्ने र कसरी नेतृत्व गर्ने भन्नेतर्फ पनि ध्यान दिन आवश्यक छ। हिजोका दिनमा छिमेकमा केही समस्या पर्दा सबै एकजुट भएर दबाब दिन्थे र मेलमिलाप गराउँथे। आज छिमेकमा के भइरहेको छ भन्नेमा कसैलाई सरोकार छैन। त्यसैले सरकारले एकातिर शिक्षामा सुधार गर्नुपर्नेछ भने अर्कातिर सामाजिक संरचनालाई पुनःस्थापित गर्नुपर्नेछ। नियम-कानुन बनाएर मात्र अपराध रोकिँदैन। समाजमा व्यापक सचेतना फैलाउन र समाजलाई संगठित गर्न आवश्यक छ।
घरभित्रै अपराध बढ्नुमा र मानिसमा आक्रोश बढ्नुमा सामाजिक सञ्जालको पनि केही भूमिका हुन सक्छ। सामाजिक सञ्जालका ‘अल्गोरिदम’ हरूले मानिसलाई झन् आक्रामक बनाइरहेका छन्। बेरोजगारी र प्रविधिले ल्याएको एकाकीपनले पनि मानिसमा वितृष्णा र आक्रोश थपेका छन्। यस्ता कुरालाई कसरी नियमन र नियन्त्रण गर्ने भन्नेतर्फ राज्यले गम्भीर भएर सोच्न जरुरी छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij