अकल्याण्ड : पश्चिम एसियामा जारी युद्धका कारण हवाई इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि जेटस्टार न्युजिल्याण्डले आफ्ना कयौँ आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ।
इन्धनको बढ्दो लागत र उपलब्धतामा देखिएको समस्याका कारण एयरलाइन्सले उडान तालिकामा कटौती गर्नुपरेको भन्दै यात्रुसँग माफी मागेको छ।जेटस्टारका अनुसार आगामी मे महिनाका लागि तय गरिएका कुल उडानमध्ये १२ प्रतिशत उडानहरू प्रभावित भएका छन् । विशेषगरी अकल्याण्डबाट क्राइस्टचर्च, वेलिङ्टन, सिड्नी र ब्रिसबेनका लागि हुने उडानहरूमा यो कटौती लागू गरिएको हो। कम्पनीले उडान रद्द भएका अधिकांश यात्रुहरूलाई सोही दिनको अर्को वैकल्पिक उडानको व्यवस्था गरिएको जानकारी दिएको छ।
एयरलाइन्सका प्रवक्ताले पश्चिम एसियाको द्वन्द्वका कारण जेट इन्धनको मूल्य अकासिएको र अन्य सञ्चालन खर्चहरू पनि बढेकाले तालिकामा अस्थायी फेरबदल गर्नुपरेको स्पष्ट पारेका छन्। ‘यात्रुहरूलाई पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ र उनीहरूको बुझाइका लागि धन्यवाद दिन चाहन्छौँ,’ प्रवक्ताले भनेका छन्।
इन्धन संकटको असर जेटस्टारमा मात्र सीमित छैन। सोमबार भियतनाम एयरलाइन्सले पनि इन्धनको मूल्य र अभावका कारण हप्तामा झण्डै दुई दर्जन आन्तरिक उडानहरू रद्द गरेको छ। त्यस्तै, म्यानमारका एयरलाइन्सहरूले पनि आफ्ना आन्तरिक उडान तालिकाहरूमा व्यापक कटौती गरेका छन्। विश्वभरका वायुसेवा कम्पनीहरू अहिले बढ्दो युद्ध र त्यसले निम्त्याएको ऊर्जा संकटको चपेटामा परेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij