Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न , ४० दिन सेवा गरेका निर्वाचन प्रहरीहरूमा खुसीयाली

चितवनमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न , ४० दिन सेवा गरेका निर्वाचन प्रहरीहरूमा खुसीयाली

चितवन: प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खटिएका चितवनका निर्वाचन प्रहरीको बिदाइ गरिएको छ। शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएसँगै आयोजित बिदाइ कार्यक्रममा सहभागी निर्वाचन प्रहरीहरूमा उत्साह र खुसी देखिएको थियो।

निर्वाचनको समयमा भरतपुर महानगरपालिका–२९ मा खटिएकी लक्ष्मी भण्डारी बिदाइ हुँदै गर्दा निकै भावुक र खुसी देखिन्थिन्। विगत ४० दिन राज्यले तोकेको जिम्मेवारीअनुसार विभिन्न स्थानमा गएर सेवा गर्ने अवसर पाएको उनले बताइन्। शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न पाउनु आफ्ना लागि ठूलो अनुभव भएको उनको भनाइ छ।

भण्डारीले राज्यको सेवा गर्ने अवसरले नेपालका सुरक्षा निकायले कति मेहनतका साथ काम गर्ने रहेछन् भन्ने कुरा प्रत्यक्ष रूपमा बुझ्न पाएको बताइन्। निर्वाचन प्रहरीका रूपमा काम गर्दा पाएको सेवासुविधालाई छोराछोरीको अध्ययनमा खर्च गर्ने योजना बनाएको उनले सुनाइन्।

यस्तै, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै रेनुका पौडेल पनि निकै सन्तुष्ट देखिइन्। कक्षा १२ को अध्ययनपछि कोरिया, न्युजिल्यान्डलगायतका देशमा कामको अनुभव लिएकी उनले नेपालमा भने पहिलोपटक जनताको सेवा गर्ने अवसर पाएको बताइन्।

“सुरुमा त मैले काम गर्न सक्दिनँ कि भन्ने लागेको थियो, तर विस्तारै बानी पर्‍यो,” उनले भनिन्। निर्वाचन प्रहरीको जिम्मेवारी सम्हाल्दै जाँदा प्रहरीले कसरी काम गर्ने रहेछन् र बर्दी लगाइसकेपछि कस्तो जिम्मेवारीको भावना आउँछ भन्ने कुरा बुझ्ने अवसर पाएको उनले बताइन्।

उनले ४० दिनको अनुभवबाट आफू सन्तुष्ट भएको बताउँदै यहाँ सेवा गर्दा प्राप्त रकमलाई स्नातक तहको अध्ययनमा खर्च गर्ने योजना बनाएको जानकारी दिइन्।

इलाका प्रहरी कार्यालय रत्ननगरअन्तर्गत रही निर्वाचनमा सहभागी भएकी सुनिता प्रजा बस्नेत पनि निर्वाचन सम्पन्न गर्न पाएकोमा खुसी छिन्। निर्वाचन प्रहरीका रूपमा काम गर्दा धेरै नयाँ कुरा सिक्ने अवसर पाएको उनले बताइन्।

बस्नेतले राज्यले दिएको जिम्मेवारी पूरा गर्न सक्ने आत्मविश्वास बढेको बताउँदै आफूले पाएको सुविधालाई भविष्यमा व्यवसाय सञ्चालन गर्न प्रयोग गर्ने योजना रहेको बताइन्। उनले कुखुरा पालन गरेर घर खर्च व्यवस्थापन गर्ने इच्छा व्यक्त गरिन्।

त्यस्तै इलाका प्रहरी कार्यालय खैरहनी मातहतमा रहेर निर्वाचनमा खटिएका सङ्कल्प केसीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न पाएको जिम्मेवारीले आफूमा थप उत्साह जगाएको बताए। “निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएकामा निकै खुसी छु,” उनले भने। राज्यले आवश्यक ठानेर भविष्यमा पनि जिम्मेवारी दिए आफू तयार रहेको उनको भनाइ छ।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन जिल्लामा २,७६६ जना निर्वाचन प्रहरी परिचालन भएका थिए। जसमध्ये नेपाल प्रहरीतर्फ २,४४१ र सशस्त्र प्रहरी बलतर्फ ३२५ जना रहेका थिए। निर्वाचन सम्पन्न भएसँगै उनीहरूलाई बिहीबार एक कार्यक्रमबीच बिदाइ गरिएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन प्रहरीको भविष्य उज्ज्वल बनाउन सिटिइभिटी र घरेलु तथा साना उद्योग कार्यालयसँग सहकार्य गरी व्यावसायिक सीप तालिम उपलब्ध गराउने पहल गरिएको जानकारी दिए। उनका अनुसार दुई चरणमा तालिम सञ्चालन गरिनेछ र सिटिइभिटीमार्फत एक वर्षमा १,२०० जनालाई तालिम दिने व्यवस्था मिलाइएको छ।

उनले निर्वाचनमा खटिएका युवालाई सीपमूलक तालिम लिएर स्वरोजगार बन्न प्रेरित गर्दै सरकारले उनीहरूको भविष्यका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट