Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनमा मतगणनास्थल कडा सुरक्षा घेरामा, १० फिट अग्लो तारजाली जडान

चितवनमा मतगणनास्थल कडा सुरक्षा घेरामा, १० फिट अग्लो तारजाली जडान

चितवन : प्रतिनिधि सभा निर्वाचनको मतगणनालाई सुरक्षित र व्यवस्थित बनाउन चितवनमा १० फिट अग्लो तारजाली लगाएर मतगणना स्थल तयारी गरिएको छ ।

चितवनका मुख्य निर्वाचन अधिकृत न्यायाधीश केदार पौडेलका अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा मतपत्रको सुरक्षालाई प्राथमिकता दिँदै तारजालीसहित मतगणना स्थल व्यवस्थापन गरिएको हो । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भुवानीशंकर कलेज खैरहनीमा, क्षेत्र नम्बर २ को उद्योग संघ चितवनको प्रदर्शनी स्थलमा र क्षेत्र नम्बर ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा गरिनेछ ।

मुख्य निर्वाचन अधिकृत पौडेलले मतपत्र जोगाउन कुनै समस्या नआउने गरी सम्पूर्ण तयारी गरिएको जानकारी दिए । विद्युत आपूर्ति सहज बनाउन तारजाली अगाडि चार्ज हुने बत्ती जडान गरिएको छ भने मतगणना परिसरमा सिसीक्यामेरा समेत राखिएको छ ।

मतगणनाका क्रममा खटिएका कर्मचारी र सुरक्षाकर्मी बाहेक अन्य कसैलाई तारजाली भित्र प्रवेश गर्न नदिने व्यवस्था गरिएको छ । उम्मेदवारका प्रतिनिधि तथा सरोकारवालालाई भने तारजाली बाहिरबाटै मतगणना अवलोकन गर्न दिइनेछ ।

चितवनमा २०७४ सालको स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनापछि यहाँको मतगणनास्थलमा तारजाली लगाएर व्यवस्थापन गर्ने अभ्यास सुरु गरिएको हो । यस पटक पनि सोही अनुभवलाई ध्यानमा राख्दै कडा सुरक्षा व्यवस्था अपनाइएको निर्वाचन कार्यालयले जनाएको छ ।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट