सम्पादकीय : धुलाम्य र साँघुरा सडक, बर्खामा डुब्ने बस्ती, सुक्खा खेत, जीर्ण विद्यालय, सीमित स्वास्थ्य सेवा र भविष्यप्रतिको अनिश्चितता जस्ता समस्या नौ वर्षअघिसम्म भरतपुरको पहिचान थियो । आज त्यही भरतपुर फराकिला चिल्ला सडक, उज्यालो सहर, हरियाली खेत, भरपर्दो अस्पताल र बढ्दो आत्मविश्वाससहित उभिएको छ । योजनाबद्ध नेतृत्व, निरन्तर श्रम र जनताको विश्वासले परिवर्तन सम्भव बनाएको हो ।
रेनु दाहाल नेतृत्वमा भरतपुरलाई स्थानीय सरकार कस्तो हुन सक्छ भन्ने नमुना दिइएको छ । सडक, ढल, बिजुली र खानेपानीजस्ता आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राख्दै उनले सहरलाई चलायमान बनाइन् । हजार किलोमिटरभन्दा बढी सडक कालोपत्र, विद्युत् तार भूमिगत, स्मार्ट बत्ती, हाइमास्ट, सिसिटिभी र ८८ किलोमिटरभन्दा लामो चक्रपथले भरतपुरको भौतिक स्वरुपसँगै नागरिकको दैनिकी नै बदलिएको छ ।
पूर्वाधारसँगै जोखिम व्यवस्थापनमा पनि उल्लेखनीय काम भयो । नारायणीको तटबन्धन, निकुञ्ज छेउका बस्तीलाई जोगाउने मेसजाली तथा नदी–खोलाको सौन्दर्यकरणले जनजीवन सुरक्षित र सहर आकर्षक बनेको छ ।
पानी, सिँचाइ र कृषि अनुदानका कार्यक्रमले किसानलाई भरोसा दिएको छ । दूधमा प्रतिलिटर अनुदानदेखि सिँचाइका ट्युबवेल र बोरिङसम्मका पहलले उत्पादन र आय दुवै बढेका छन् । शिक्षा र स्वास्थ्यमा गरिएका लगानीले दीर्घकालीन लाभ देखाउन थालेका छन् । भवन, बस र भर्ना वृद्धिसँगै सामुदायिक विद्यालयको पुनरुत्थान भएको छ । महानगरका सबै वडामा स्वास्थ्य संस्था, महिलासहित ज्येष्ठ नागरिकका लागि निःशुल्क सेवा, प्रसूति, एम्बुलेन्स र बालिकाको जीवन बीमा जस्ता कार्यक्रमले सामाजिक सुरक्षा बलियो बनाएको छ ।
पर्यटन, सीपमूलक तालिम, विमानस्थल विस्तार र अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाजस्ता परियोजनाले भरतपुरलाई रोजगारी र पहिचान दुवैमा अघि बढाएका छन् । सबैभन्दा महत्वपूर्ण पक्ष सुशासन र पारदर्शिताले यस उपलब्धिलाई विश्वसनीय बनाएको छ ।
न्यून बेरुजु, बढ्दो आन्तरिक आम्दानी र राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मानले भरतपुरको प्रशासनिक क्षमता प्रमाणित गर्छ । यस्ता आधारबिना विकास दीगो हुँदैन । भरतपुरमा समावेशी विकास, वातावरणीय दवाव, दिगो शहरीकरण र सेवा–गुणस्तर निरन्तर उकास्नुपर्ने चुनौतीहरु अझै छन् । तर नौ वर्षको यात्रामा नेतृत्व, दृष्टि र कार्यान्वयन मिले स्थानीय सरकार राष्ट्रिय परिवर्तनको इन्जिन बन्न सक्छ भन्ने कुरा प्रष्ट भएको छ । भरतपुरले त्यो सम्भावना साकार पारेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij