Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

‘भागम भाग २’ : गोविन्दाको ठाउँमा मनोज बाजपेयी !

‘भागम भाग २’ : गोविन्दाको ठाउँमा मनोज बाजपेयी !

मुम्बई : बलिउडमा यतिबेला पुराना सुपरहिट फिल्मका सिक्वेल बनाउने लहर चलेको छ । यसैक्रममा सन् २००६ को चर्चित कमेडी फिल्म ‘भागम भाग’ को दोस्रो भाग बन्ने भएको छ । सो फिल्मको छायाङ्कन तयारी भइरहेको छ ।

फिल्मलाई लिएर आएको पछिल्लो अपडेटले भने दर्शकहरूलाई अचम्ममा पारेको छ । समाचारका अनुसार फिल्मको मुख्य कलाकार परिवर्तन गरिएको छ । फिल्ममा अक्षय कुमार र परेश रावलको जोडी यथावत् रहने भए पनि गोविन्दाको ठाउँमा मनोज बाजपेयी देखिने भएका छन् ।

रिपोर्टका अनुसार निर्माण पक्षले मनोज बाजपेयीलाई फिल्मका लागि अनुबन्धित गरिसकेको छ । ‘भागम भाग’ मा गोविन्दाको अभिनय र उनको ‘कमेडी टाइमिङ’ लाई दर्शकले निकै रुचाएका थिए । यस्तोमा गम्भीर अभिनयका लागि परिचित मनोज बाजपेयीले गोविन्दाको स्थानमा कस्तो न्याय गर्नेछन् भन्ने कुरामा सबैको चासो बढेको छ । यद्यपि, निर्माण पक्षले यसबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा भने गरेको छैन ।

सन् २००६ मा रिलिज भएको ‘भागम भाग’ लाई प्रियदर्शनले निर्देशन गरेका थिए । अक्षय, गोविन्दा र परेश रावलको मुख्य भूमिका रहेको फिल्ममा लारा दत्ता, राजपाल यादव, ज्याकी श्राफ, शक्ति कपुर लगायतका कलाकारहरूको अभिनय थियो । बक्स अफिसमा सफल भएको यो फिल्म समयसँगै दर्शकमाझ एक सदाबहार कमेडी फिल्मको रूपमा स्थापित भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट