Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बोस्टन इन्टरनेसनल कलेजका प्रमुख आनन्द चन्द: कैलाली–५ मा रास्वपाको उम्मेदवारी

बोस्टन इन्टरनेसनल कलेजका प्रमुख आनन्द चन्द: कैलाली–५ मा रास्वपाको उम्मेदवारी

कैलाली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली–५ बाट आनन्दबहादुर चन्दलाई उम्मेदवार बनाएको छ।

चन्द काठमाडौंका पूर्वमेयर तथा रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन शाहका निकटस्थ मानिन्छन्। उनले काठमाडौं महानगरपालिकामा बालेन शाहको कार्यकालमा शिक्षा, वातावरण र स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुर्‍याएका थिए।

त्रिभुवन विश्वविद्यालयका विज्ञान संकायका उपप्राध्यापक रहिसकेका चन्दले रसायनशास्त्रमा पीएचडी समेत गरेका छन्। उनले अध्ययन तथा अनुसन्धानमा सक्रिय रहँदै अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धान प्रकाशित गरिसकेका छन्।

चन्दको जन्म बैतडीमा भएको हो र परिवार पछि कैलालीमा बसोबास गर्न आएको थियो। उनका अनुसार, सुदूरपश्चिमको पीडा, सम्भावना र आवश्यकता बुझेर उनी यस क्षेत्रको विकास र सुशासनका लागि राजनीतिमा लागेका हुन्।

आनन्द चन्दले नेपालमा सुर्तिजन्य पदार्थ नियन्त्रण, धूम्रपान निषेध कानून, विज्ञापन नियन्त्रणजस्ता नीतिमा सरकारलाई सघाएका छन्। उनले आयरल्याण्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, बेलायत, मेक्सिको, इन्डोनेसिया लगायत विश्वका सम्मेलनहरूमा नेपाल प्रतिनिधित्व पनि गरिसकेका छन्।

उनी नेपाल खाद्य संस्थानका अध्यक्ष र बीपी कोइराला मेमोरियल प्लान्टेरियम अब्जरभेटरी एन्ड साइन्स म्युजियम विकास बोर्डका कार्यकारी निर्देशक समेत रहिसकेका छन्।

चन्दले रास्वपाबाट टिकट पाएको पुष्टि गर्दै कैलालीको विकास र समृद्धिका लागि आफ्ना एजेन्डा केही दिनमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट