काठमाडौँ : चिसो मौसम सुरु भएसँगै मानिसहरूमा मौसमी रुघाखोकी र स्वास्थ्य समस्या बढ्ने जोखिम उच्च भएको छ। विशेष गरी मौसम परिवर्तनको समयमा रुघाखोकी छिटो फैलिने भएकाले सावधानी अपनाउन आवश्यक देखिन्छ।
स्वास्थ्य विशेषज्ञहरूले रुघाखोकी र चिसोका अन्य समस्याबाट जोगिनका लागि विभिन्न उपाय सुझाएका छन्। इन्फ्लुएन्जा भ्याक्सिन लगाउनु, घरबाहिर निस्कँदा मास्क लगाउनु, न्यानो कपडा लगाउनु र चिसोबाट जोगिनु जस्ता उपाय अपनाउन आवश्यक रहेको बताइएको छ।
चिसो मौसममा दीर्घरोगी, जस्तै मुटु, मिर्गौला, दम र क्यान्सर रोगका बिरामी, जटिल मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति, अङ्ग प्रत्यारोपण गराएका बिरामीमा स्वास्थ्य बिग्रन सक्ने जोखिम बढी हुन्छ। साथै, ५ वर्षभन्दा कम उमेरका बालबालिका र ६५ वर्षभन्दा बढी ज्येष्ठ नागरिक पनि चिसो मौसमबाट बढी प्रभावित हुन सक्छन्।
स्वास्थ्य विशेषज्ञहरूले चेतावनी दिएका छन् कि चिसोले नसाहरू साँघुरिने भएकाले हार्ट अट्याक, स्ट्रोक, दम र श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न सक्छ। रुघाखोकी लागेमा सामान्यतया घरेलु उपचारले केही दिनमा निको हुने भए पनि अत्यधिक ज्वरो, सास फेर्न गाह्रो, छिटोछिटो सास फेर्नु, रक्तचाप घट्नु वा होस हराउनु जस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्छ।
त्यस्तै, मौसमी रुघाखोकी र अन्य रोगहरूबाट बच्न धुलो–धुँवा र चिसोबाट जोगिनु, रुघाखोकी लागेका व्यक्तिसँग टाढा बस्नु र हात मिलाउनु नहुने जस्ता उपाय अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्। कोभिडका समयमा जस्तै व्यक्तिगत सरसफाइमा ध्यान दिनु र चिसोबाट बच्नुले मौसमी रुघाखोकीबाट सुरक्षा गर्न सहयोग पुग्ने बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij