सम्पादकीय : चितवनको पुरानो सरकारी स्वास्थ्य संस्था भरतपुर अस्पतालले संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा ८८ अङ्क प्राप्त गर्दै देशभरकै उत्कृष्ट अस्पतालको मान्यता हासिल गरेको छ । यो उपलब्धि एउटा संस्थाको निम्ति मात्र नभएर समग्र चितवनवासी र राष्ट्रकै गौरवको विषय बनेको छ । स्वास्थ्य क्षेत्रलाई सक्षम, विश्वसनीय र सर्वसुलभ बनाउन राज्यले निर्धारण गरेको मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै भरतपुर अस्पतालले देखाएको प्रगति नेपालका सरकारी अस्पतालहरूको स्तर उकास्ने प्रेरणादायी मोडेलको रूपमा प्रस्तुत भएको छ । यसबेला स्वास्थ्य सेवा मात्र उपचारकेन्द्रित हुनुपर्ने होइन, जनविश्वास आर्जनगर्ने माध्यम पनि हुनुपर्छ । भरतपुर अस्पतालले पछिल्ला वर्षहरूमा यसको उदाहरण प्रस्तुत गरेको छ । दैनिक हजारौँ सेवाग्राहीलाई प्रदान दिँदै आएको स्वास्थ्यसेवा, नागरिकका अपेक्षा र चुनौतीपूर्ण अवस्थाका बीच पनि सेवा व्यवस्थित राख्न अस्पतालले अपनाएको दक्षता निकै प्रशंसनीय छ । नीति निर्माण तहदेखि व्यवस्थापन र प्रत्येक स्वास्थ्यकर्मीको समर्पणका कारण अस्पतालले यो सफलता हासिल गरेको हो ।
नेपालमा सरकारी अस्पतालहरूले सीमित स्रोत, साधन र जनशक्तिको चुनौतीका बीच सेवा सुधारको आकाङ्क्षा राख्दै आएका छन् । यस्तै पृष्ठभूमिमा भरतपुर अस्पतालले गुणस्तरीय सेवा, सहज पहुँच, समयमै उपचार, आधुनिक उपकरणको उपयोग र नागरिकमैत्री व्यवहारका आधारमा प्राप्त गरेको ८८ अङ्क उपलब्धिको उच्च सूचक हो । यसले अस्पतालको संस्थागत क्षमतासँगै नेतृत्व, व्यवस्थापन र कार्यसंस्कृतिमा आएको सुधारलाई पनि प्रष्ट पार्दछ । नेपाल सरकारद्वारा तोकिएका सूचकहरू ः प्रशासनिक व्यवस्थापनदेखि आपत्कालीन सेवा, मातृशिशु स्वास्थ्य, सरसफाइ, औषधि व्यवस्थापन, प्रतीक्षालयको सहजता, बिरामीसँगको व्यवहार र सेवा निरन्तरतासम्म सबै क्षेत्रमा सन्तोषजनकभन्दा माथिको प्रदर्शन गर्नु सजिलो विषय थिएन । तर, भरतपुर अस्पतालले यावत् चुनौतीहरु पार गर्दै आफ्नो सेवा प्रभावकारीरूपमा विस्तार गरेको छ । यो सराहनीय छ ।
चितवनजस्तो तीव्र जनसंख्या वृद्धि भएको जिल्लामा भरतपुर अस्पतालको भूमिका झनै मह¤वपूर्ण रहँदै आएको छ । यस अस्पतालमा बागमती प्रदेशसहित कम्तीमा १५ जिल्लाका मानिसहरु उपचारका लागि आउने गरेका छन् । सेवा विस्तारका नयाँ पहल, विशेषज्ञ सेवा वृद्धि, पूर्वाधार विस्तार र जनशक्ति अभिवृद्धिका विषयमा यहाँ भइरहेको निरन्तर प्रयासले भविष्यमुखी स्वास्थ्य व्यवस्थाको चित्र कोरेको छ । देशभरका अन्य अस्पतालहरूले पनि यस मोडेलबाट सिकेर स्वास्थ्यसेवा सुधारका दिशामा कदम चाल्न जरुरी छ । अन्ततः सङ्घीय अस्पतालहरूको मूल्याङ्कनमा ८८ अङ्कसहित मुलुककै उत्कृष्ट बन्नु भरतपुर अस्पतालका लागि मात्र होइन, चितवनका नागरिक र सम्पूर्ण देशवासीका लागि गर्वको विषय हो । आगामी दिनमा पनि अहिले हासिल गरेको उपलब्धिलाई निरन्तरता दिँदै सेवा सुधारमा निरन्तर लगनशीलता, र स्वास्थ्य क्षेत्रको समग्र सुदृढीकरण गर्नु आवश्यक छ । सफलताको यो शिखरलाई कायम राख्न बिरामीमैत्री वातावरण र सेवाग्राही मेत्री स्वास्थ्यसेवा प्रदान गर्दै अझ उचाइमा पु¥याउने जिम्मेवारी सरोकारवाला सबैको सामूहिक प्रयासले मात्रै पूरा हुन सक्छ । देशभरकै उत्कृष्ट अस्पताल बन्न सफल भएकोमा अस्पताल प्रशासन, चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीहरुलाई हार्दिक बधाई ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij