Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

चितवनमा कन्सल्टेन्सीको किर्तेमार्फत ठगीधन्दा, यसरी उठाइन्छ पैसा ! होला कार्वाही ?

चितवनमा कन्सल्टेन्सीको किर्तेमार्फत ठगीधन्दा, यसरी उठाइन्छ पैसा ! होला कार्वाही ?

चितवन : असार १३ गते जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचनामार्फत यहाँ सञ्चालित शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्ने संस्थाहरुको सूची सार्वजनिक गर्यो । असार ८ मा प्रकाशित सूचना बमोजिम असार १५ गतेभित्र पेस हुन आएका १११ वटा संस्थाहरुको निवेदन प्राप्त भएको प्रशासनको भनाइ थियो ।

जसअनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका शैक्षिक परामर्श तथा भाषा शिक्षण केन्द्र ४६ वटा, काजगात नपुग भएका तथा दर्ता प्रक्रियामा रहेका ५० वटा र प्रशासनमा दर्ता नै नभएका त्यस्ता कन्सल्टेन्सीहरु १५ वटा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमले जानकारी दिए । प्रशासनले दर्ता प्रक्रियामा रहेकालाई आइतबारसम्मको समय दिएको छ भने दर्ता नै नभएका १५ वटालाई भने बन्द गर्न प्रहरीलाई पत्राचार गरिसकेको छ ।

तर, गम्भीर कुरा के छ भने दर्ता नै भइसकेका केही कन्सल्टेन्सीले किर्तेदेखि अनेक ठगीका धन्दा गरिरहेको जानकारी प्राप्त भएको छ । जानकारी अनुसार लाखौको खेलमा कन्सल्टेन्सीहरुले अस्ट्रेलिया, क्यानडालगायतका देशमा जाने विद्यार्थीका लागि बनाउने डकुमेन्टमा चलखेल गर्ने गरेको पाइएको छ । आम्दानी देखाउने नक्कली डकुमेन्ट बनाउन नाम चलेकै कन्सल्टेन्सीहरुले धन्दा गरिरहेका छन् । यसरी डकुमेन्ट बनाउँदा प्रत्येक विद्यार्थीबाट १ देखि ३ लाखसम्मको असुल भइरहेको एक कन्सल्टेन्सीका कर्मचारीले बताए ।

उनका अनुसार कतिपयले त गैरकानुनीरुपमा संस्थाको नाम नै परिवर्तन गरेर यस्तो धन्दा गर्ने गरेको खुलेको छ । यस्तै नोटरी गर्दा फरक फरक नाममा गरिएपनि एउटै वकिलको हस्ताक्षर देखिन्छ । सेटिङकै कारणले यस्तो भएको भएको हो । यस्तो कार्यले सम्बन्धित देशले शंकाको सूचीमा राख्ने भएकाले भिसा नलाग्ने खतरा समेत हुने जानकारहरु बताउँछन् ।

बैंकहरुसँग सेटिङमा नक्कली बैंक स्टेटमेन्ट निकाल्ने र त्यस्ता फर्जी कम्पनीहरुले प्रशासन र स्थानीय तहमा समेत फरक फरक नाममा दर्ता गरेको देखिन्छ । यसबारे प्रशासन समेत जानकार भएपनि एक्सन लिन आनाकानी हुनुले ठुलै सेटिङको आशंका गरिएको ती कर्मचारीले बताए । चितवनको एक प्रतिष्ठित शैक्षिक परामर्शदाताले सबैभन्दा धेरै यस्तो धन्दा गरेको देखिएको छ ।

जिल्लामा बैध–अवैध रुपमा संचालित भाषा परामर्श केन्द्रहरुले बार्षिक १० करोड बढी राजस्व छलि गर्दै आएको अनुमान छ । कन्सल्टेन्सीहरुले विद्यार्थी ठग्दैआएको तथ्य अब घाम जत्तिकै छर्लङ्ग भएपनि सम्बन्धित निकायले सूची निकाल्नुबाहेक ठोस काम गर्न नसक्नुले थप आशंका जन्माएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट